बेपार गर्छु भनेर कोहि बनिया घरदेखि निस्क्यो जसै;
तेस्का साथ छ चोर गया पछिपछि सोहि बखत्मा तसै।।
जङगल्का बीच्मा कुनै दिनमहा बास पर्न तेस्को गयो;
माल्मत्ताहरु चोर्नलाई सजिलो चोर्लाइ मौका भयो।।
रातिका बखत्मा ती चोर्हरु सबै एकै बखत्मा गया;
मार्पिट धेर गरेर असबाब सम्पूर्ण लूट्दा भया।।
आफ्नु जोर नचलेर सोहि बनिया भगेर केइ दूर् गयो;
बाटो केहि नदेखि खाडल बिषे पौचेंर लुक्दो भयो।।
खाडलमा पनि सर्प एक् अति ठुलो देख्यो बस्याको जसै;
एस्ले डस्छकि भनेर बनिया सारै डरायो तसै।।
निस्कोस् खाडलदेखि केइ गरि भन्या मार्ननकि चोर्ले भनि;
तेस्लाई डर भो उपाए नसुझि बाच्न्यां अरु केइपनि।।
बाच्नु कुन् रीतले भनेर मनले चौतर्फ हेर्दामहां;
देख्यो एक् बरको जरो नगीचमा तेस्ले अकस्मात तहां।।
आधार केहि नपाउदा उहि जरो हात्ले समात्दो भयो;
तेसैमा झुन्डिएर बनिया केहि बखत तक रह्यो।।
फेरि तेइ बरको जरो दुइ मूसा आइ उसै बीचमहा;
लाग्या काट्न र मनमनै एइ कुरा त्यो भन्न लाग्यो तहां।।
आधार् एइ बरको जरो गरिलिया आएर एस्मा पनि;
लाग्या काट्न मूसा भन्या अब् येहा बांच्नु कसोरि भनि?
मनमा येहि बिचार गरेर बनिया सारै डरायो जसै;
मूसाले पनि त्यो जरो खुरुखुरु काटिसक्य सब तसै।
सन्सारि जनलाई येइ तरहले सुख छैन कैल्यै पनि;
बैराग्यै मनमा लिनु उचित हो राजन तिमिले पनि।।
देहै हो बनिया अवस्य बुझि लेउ षड् इन्दृयै छन जउन;
बुद्धिलाइ सदा हरण् गरिलिन्या चोरै समानका ति हुन्।।
सन्सार खाडल हो मुसहरु दुबै रात दिन इनै हुन पनि;
बायु हो बरको जरो बुझ तिमी त्यो सर्प हो काल भनि।।
आत्मा पन्छि भनेर सम्झ मनले यो देह रुख सम्झिनु;
रुख गिर्दा हुदि पन्छि गर्दछ कहां बेर्थै छ जन्ले रुनु!!
यो कविता श्री मद् भागबत को एउटा खन्ड बाट दृस्टान्त लिइ तेस्को नेपाली रुपान्तरण गरिएको हो। यस्मा प्रयुक्त दृस्टान्त निकै मन परेकोले केहि काटछट गरि ब्लग मा छापेको हुं।
एस्तै प्रकारको कथा लियो टोल्स्तोय को 'अ कन्फेसन' ( A Confession - part 4 ) नामक किताबमा पनि पाउन सकिन्छ।
२४ श्रावण २०६८, भरतपूर, नेपाल
