प्रिय अपरिचित,
अहिले रातको तीन बजेको हुनुपर्छ, किनकि मेरो यो डाँडामा रहेको एकलासको घरमा तल खोल्सामा कराउने बिहानी चराहरुको आवाज भर्खरै सुनिन लागेको छ। ठ्याक्कै यति यसै भन्न त सक्दिंन किन भने मैले कहिले हातमा घडी बाँधिन। समय मा बाँधिएको यथार्थतालाई थोरै भएपनि जिस्किएरै बिर्सन खोजेको हुँ। केहि चिज़मा लामो समय देखि मैले गमिरहेथें कि पोखुं, त्यो कतै गएर तर हेर न कति विवश छु यहाँ। त्यहि चीज जसले मेरो मनमा सम्पूर्ण अर्थ (perfect sense) बनाउंछ, त्यहि चिज यहा यसरि व्यक्त गर्दा कस्तो कता कता अमिल्दो, सेंसलेस लागिरहेछ।
प्रायः म यतिखेर कुनै किताब पढिरहेको हुन्थें या कुनै नाटक वा फिल्म पो हेरिरहेको हुन्थें वा आउने लागेको जाचको तयारीमा कठीन सुत्र हरु रटिरहेको हुन्थें। अचम्म छ हेर न, म सपना निकै ढिलो देख्ने गर्छु, आइ मिन , म निकै ढिलो सुत्ने गर्छु। आज न त निन्द्रा आयो, न सपना आयो। न हातमा किताब आयो, न त अगाडी कम्प्युटर स्क्रिन छ। छ त फगत एक कुटुरो मन, जसमा हजार तर्क वितर्कका राता रक्ताकोषहरु सल्बलाउदै यता उता गरिरहेछन।
सायद तिमि मस्त मग्न निन्द्रामा छौ होला, या आफुलाई मन पर्ने कुनै गीत मधुरो आवाजमा नेपथ्य गर्दै भुलिरहेकी हौली, या कुनै प्रोजेक्ट को अन्तिम तयारि बारे चिन्तित हौ। मैले भन्न खोजेको के भने, भलै तिमी मलाइ सुनिरहेकी छैनौ, तर म यहा केहि कोरिरहेछु, जे म भन्न चाहान्छु। मैले सुरुमै भनिसके, म आफ्नो मनस्थिति र मनको कुरा बताउन नि त्यति समर्थ छैन जति महसुस गरिरहेछु, त्यसैले मिलाएर बुझ ल, ताकी मेरो मनको बिचार र यो लेखेको टुक्राको आशयमा कुनै खाडल बाकि नरहोस्!
यो एउटा सजिव अनुभव हो। भन्नाले, हो तिमि कसैलाई देख्छौ , अनि चिन्छौ।
देख्दैमा चिन्ने? हो, अपरिचित, देख्दैमा चिन्ने के! तिम्रो हृदय देख्दैमा चिन्ने उसैको कल्पनामै धड्किन थाल्छ। जिज्ञासाले। कल्पनाले। भविष्यले। भुतले। अझ बढी वर्तमानले।
उसको नाम, उसको मनपर्ने गीत के होला, अहिले नै थाहा पाए गुनगुनाई हालूंजस्तो हुन्छ। उसको कमजोरी के हो, थाहा पाए अहिल्यै त्यसलाई समाधान गर्दिन जाऊ जस्तो हुन्छ। उसको मन पर्ने कविता आफुले नै गाइ दिऊ जस्तो हुन्छ।
परिचित हुनुमा के छ त बहाना? त्यहि होइन, अन्तिम चिनारी मनको? सुरुमै मनको चिनारी भएपछी शारीरिक अनि सांसारिक चिनारी किन चाहियो भन त?
त्यहि सजिव अनुभव, म कुरा गर्दै थिएं, अरु कोहि अपरिचित को लागि क्या! जति आफुले महसुस गरिन्छ, त्यति अरु कसैले आफ्नो लागि यस्तै अनुभव गरे कस्तो हुँदो हो? अनि सोहि अनुभव गर्ने एक अर्का उही भैदिए कस्तो हुँदो हो?
ती पुराना घाउ पीडाका, जसमा पलाउनेछन सुन्दर फूलहरु, बिर्सिएर सबैकुरा!
र त्यो संगीत जो सुत्ने बेला बज्ने मधुर गीत अनि बिहान उठाइदिने उर्जावान अलार्महरु एकै हुनेछन, उसैको आवाज!
अनि उसको मुस्कान ? तिमि कल्पना गर न अपरिचित, देख्दै चिनेको लाग्नेको आत्मीय मुस्कान कस्तो लाग्ला? त्यहि मुस्कानको परिकल्पनामा नै तिमि एक जुग पर्खिन सक्नेछौ!
त्यहि सजिव अनुभव, म हरेक बिहानी गर्न चाहान्छु। बिहानीको चियाको चुस्की, हरेक दिन नया र सजिव चाहान्छु! ऊ कफीको बियाँ होस् या चियाको पात, म आफ्नो हरेक राता रक्तकोशमा उसलाई महसुस गर्न चाहान्छु!
अनि अर्को कोणबाट सोचम न है, सायद मैले कसैलाई त्यहि तरिकाको महसुस गराउनु पनि त छ! त्यो उच्चतम उर्जायुक्त सम्बन्ध कसैको जीवनमा हुनुभनेको त एक दिव्यता को अपूर्व संगम, कति सुन्दर होला ?
होस् कुनै दिन दुख, अफ्ठ्यारा हुनन् बाटाहरु, एक अर्काको अनुहारै नदेखे जस्तो गरिएला तर देख्दै चिनेको उसको मुटु कसरि धड्किरहेको छ भन्ने सजिव अनुभव भइ नै रहनेछ!
मलाइ हतार छैन अपरिचित, कुनै दिन उसलाई म भेट्टाउने नै छु, जब समय आउनेछ, जब त्यो मायाको महसुस गर्नेछु मैले, न कि मेरो चाहनाले! यसैले धैर्यता राख्न सकूँ, म यहिं छु! भेट हुने नै छ!
आशा गर्छु, एब्सर्ड नै भए पनि शब्दविन्यास गरेको छु, छरिओस् बिस्कुनका अन्नहरू सरि! एउटा बोरामा राखेसरी जोडेर मिलाएर बुझ्नु है!
अबको कुनै बिहानी, जब तिमी निन्द्राबाट बिउझेर यी अक्षर पढ़नेछौ, कल्पनामै तिमी पनि कसैको लागि यस्तै सजिव महसुस गर्नु ल! अनि त्यहि सजीवता सधै भरि जीवित राख्नु ल!
अब म हिजो सुरु गरेको एउटा किताबको अन्तिम केहि हरफ सिध्याउनु छ, जान्छु ल!
तिमि आफ्नो ख्याल राख्नू !
-उही,
अपरिचित !