अपरिचित यी अनुहारहरु,
धमिलो प्रकाशमा
धमिलो प्रतिच्छायासरि
आउछन्, जान्छन्।।
हुलका हुल,
कैले निधार्
कैले छाति त पेट छाम्छन्
सुम्सुम्याउछन्, टकटक पार्छन्
वोउ... टिम्प्यानिटिक आवाज रे
...फेरि आलो सुन्छन्
चिसो त्यो,
मेरो छातिमा, पेटमा;
तर किन
किन म सित कोहि
मेरो मनको कुरा गर्दैन?
सायद त्यो दिन थियो,
सबैभन्दा खुशिको क्षण,
अब चै मेरा छोराहरुले बचाउने भए,
लागेथ्यो, अब त रोग पत्ता लाग्छ।
गर खर्च जति गरेपनि;
सिटि, एम्आर् आइ जे जे गर्नुछ
बायोप्सि लेउ, जाचपड्ताल् गर,
सुम्पेथे मेरा गहना;
पेवा भनि राखिएको पूरानो सन्दूक;
बढाइदिनु सेता रक्तकोश् हरेक अङग अङगमा,
अबुर्दका ति बूढा रक्तकोश फालेर
नया उर्जावान थप अङग प्रत्यङग बनाउनेछन्;
भरोसामा थिएं
मेरा छोराहरुको ।।
समय कटिरहेछ, कटाउनु नै छ,
सेतो लत्रेको कोट, र चम्किलो चस्मा लगाएर आउछ,
आउछ निर्जिव स्वरूप
औपचारिक, बिल्कुल् मेसिनसरि- स्वचालित छ;
... बस्;
कस्तो छ? -आखां हेर्छ
केही खानुभयो? - जिब्रो हेर्छ
लामो सास फेर्नुस्। - आलो सुन्छ
"ल ठीक छ।"
केही लेख्छ त्यो फाइलमा
दबाइ थपेको होला,
अझै छ महिना,
.... एक् बर्ष,
....तीन महिना।।
'ल ठीक छ?'
ठीक भए किन छु म यहां?
प्रतिप्रश्न गर्न मन लाग्छ।
कोहि छैन मेरो उत्तर दिने,
किनकि कोहि मसित कुरा गर्दैनन।।
बित्छ दिउसो, साझ्ं , राति,
अजिव यो शरीर छ;
आराम गर्न मन थियो मलाई पनि,
तर कहिले कोखो, कहिले छाति त कहिले गोडा दुखिरहन्छ,
छटपटिइरहन्छ, करकरि खाइरहन्छ,
खै किन पत्ता नलागेको यो रोग
झन अस्पताल् बसाइले गलिरहेछुं
थप रुग्ण, यो बुढेसकालमा,
...कहांको रोग निको पारेर,
"नयां जवानि"का साथ घर फिर्ने सपना
यो 'चार बर्षे' अस्पताल बसाइंमा चुकाउनु परिरहेछ।
वरिपरि कतै केहि देख्दिन,
आर्तनाद उस्तै उहि,
मरुभुमिमा थोपा खस्छ
हावामा बिलाउछ बाफ
मुस्कान देख्दिनं पालुवाको
खालि यान्त्रीक चस्माधारी मानव।
कहां दुख्छ?
कस्तो?,
कसरि?,
कहां?
अरेबाबा झोंक चल्छ,
कुरुवा बस्ने मेरा छोराहरु,
छोराजस्ता मेरा डाक्टरहरु
खै किन,
के गर्दै छौ तिमिहरु?
...छ अझैपनि अन्तिम आस,
कुरा गर्न आउछौ कि भन्ने,
रोगि आमाप्रति निस्वार्थ कर्तव्य पूरा गर्छौ कि भन्ने,
ए, सुन न कोहि म सित किन कुरा गर्दैनौ?