Sunday, January 1, 2012

मदिरा तथा सुर्तीजन्य पदार्थः स्वास्थ्य र सरकारी निती


हालै गरिएको सरकारी कारवाहीका कारणले काठमाडौं लगायत सहरी क्षेत्रहरुमा मदिराजन्य वस्तुहरुको सेवन बाट हुनसक्ने सवारी दुर्घटना तथा त्यसबाट हुनसक्ने धनजनको क्षति, घाइते संख्यामा कमी आएको कुरा तथ्याङ्कहरुले देखाएका छन् । यसबाट के स्पष्ट भएको छ भने, सरकारी नीति तथा कानुनको सही कार्यान्वयन भएमा मदिराजन्य एवं सुर्तीजन्य वस्तुहरुको सेवनमा त कमी आउने छ नै र त्यसबाट हुनसक्ने धन तथा जनको क्षतिमा समेत कमी हुने थियो ।




सरकारले हालै चुरोट तथा सुर्तीहरुको बट्टाहरुमा चुरोट सेवनको कारणले हुनसक्ने रोगहरु जस्तै क्षयरोग, क्यान्सर जस्ता रोगहरुद्वारा ग्रस्त अंगहरुको चित्र राखेर जनताहरुलाई यस्ता पदार्थहरुको प्रयोगमा निरुत्साहित गर्ने निर्णय गरेको थियो । तर आवश्यक पर्यवेक्षण र कानुनी दायराको अभावमा नेपालबाट उत्पादन हुने सुर्तीजन्य वस्तुहरुको बट्टामा यो अझै कार्यान्वयन हुन सकेको छैन । धेरै मानिसहरु आवश्यक ज्ञान तथा सुर्तीजन्य वस्तुहरुको सेवनका कारणले हुनसक्ने हानीहरुबारे जानकार नभएर नै यसको सेवन गरिरहेका छन् । सरकारले गरेको यो निणर््ायको सशक्त कार्यान्वयन भएमा, त्यस्ता जनताहरुमा केही न केही रुपमा ज्ञानको प्रसार हुनेथियो र सुर्तीजन्य वस्तुहरुको सेवनमा कमी आउने थियो । कालान्तरमा यस्ता पदार्थहरुको सेवनद्वारा हुनसक्ने मृत्यू संख्यामा पनि कमी ल्याउन सकिनेथियो ।

यसबाहेक मदिराजन्य वस्तुहरुको बिक्री निश्चित एवं अनुमतिपत्र प्राप्त पसलहरुबाट गर्नुपर्ने सरकारी निर्णय पनि राम्ररी लागु हुन सकेको छैन । यसैगरि काठमाण्डु लगायत देशका केही सहरी क्षेत्रहरुमाा सार्वजनिक स्थानहरुमा राखिएका मदिराजन्य एवं सुर्तीजन्य वस्तुहरुका होर्डिङ बोर्ड तथा विज्ञापनहरु हटाउनु चाहि सरकारको राम्रो सुरुवात मान्न सकिन्छ । यी र यस्ता कदमहरु सही र सशक्त रुपले अगाडि नबढाएसम्म उल्लेखनीय प्रगति गर्न गाह्रो हुनेछ ।

मदिरा तथा सुतीजन्य वस्तुहरुको सेवनले शरीरका प्रत्येक अङ्गहरु विषेष गरेर श्वासप्रश्वास र रक्तचाप, पक्षघात, क्षयरोग, फोक्सो तथा गलाको क्यान्सर जस्ता केही ठूला रोगहरुमात्र नभई मुख गनाउने, अरुचि, तनाव, मानसिक अशान्ति, आँखा कम देख्ने पेटको खराबि, नसाहरुको समस्या जस्ता देख्दा समान्य लाग्ने तर यस्ता पदार्थहरुको सेवनले अल्पायुमै ठूलो दुर्घटना निम्त्याउन सक्ने रोगहरु पनि हुन सक्दछन् । यसबाहेक यी पदार्थ सेवनका सामाजिक प्रतिकुलताहरु पनि छन् । घरझगडा, गरिबी , सामाजिक तिरस्कार र समग्र रुपमा जीवनस्तरको गीरावट हुनाले अन्य विभिन्न समस्याहरु पनि आइपर्न सक्दछन् ।


सांसारिक भुमण्डलीकरण तथा उत्तरआधुनिकताका कारणले सहरी क्षेत्रहरुमा पश्चिमी जीवनशैलीको अन्धनक्कल हुदै गइरहेको छ । यसको सीधा प्रभाव स्वास्थ्य क्षेत्रमा परिरहेको छ । नसर्ने खालका रोगहरु जस्तै उच्चरक्तचाप, मधमेह, क्यान्सरहरु, मष्तिष्कको पक्षघात, मानसिक रोगहरुको प्रकोप बढ्नु यसको ज्वलन्त उदाहरण हो । नसर्ने खालका लगभग सबै रोगहरुको मुख्य कारण भनेको रक्सी तथा सुर्तीजन्य पदार्थहरुको सेवन नै हो । त्यसैले सरकारले यो कुरालाई मनन गरेर उचित कार्ययोजना तर्जुमा गरी नसर्ने रोगहरुको नियन्त्रण एवं रोकथामको लागि तुरुन्तै पहलकदमी गर्नुपर्ने देखिन्छ । जसको लागि सम्पूर्ण जनतालाई उचित स्वास्थ्य शिक्षा दिई सुसुचित गर्ने, कानुनको सशक्त कार्यान्वयन गर्ने र रोगी तथा समस्या भएका जनताहरुको उचित पुर्नस्थापनाको लागि कलम चालेमा मात्र सरकारले यस्ता सुर्तीजन्य एवं मदिराजन्य पदार्थहरुको सेवनका कारणले हुने (नसर्ने रोगहरुको ठूलो हिस्सा) लाखौं नेपाली जनताको सम्भावित मृत्युलाई रोक्न सक्दछ ।