एम.डी. पढ्दाका दिनहरूमा मेरो प्रोफेसरले सधैं भन्नुहुन्थ्यो—“एक चिकित्सकका लागि एक दिनको ज्वरो भएको बिरामीको उपचार सबैभन्दा चुनौतीपूर्ण हुन्छ।”
हामी बिरामी र बिरामीका आफन्तलाई प्रायः आश्वस्त पार्छौँ—“आत्तिनु पर्दैन, यो त सामान्य ज्वरो हो।”
तर भित्र–भित्रै एउटा चिकित्सकलाई थाहा हुन्छ— यो ज्वरो कुनै गम्भीर रोगको सुरुआती संकेत पनि हुन सक्छ। धेरैपटक यही हल्का देखिने ज्वरो मलेरिया, डेंगु, क्यान्सर, ल्युकेमिया, बाथ, एन्डोकार्डाइटिसजस्ता गम्भीर रोगहरूको पहिलो झलक हुन सक्छ। यस्तो अवस्थामा सही समयमै रोग पहिचान गर्न नसकिए चिकित्सकलाई गहिरो तनाव र दबाबको सामना गर्नुपर्छ।
बिरामीलाई निश्चिन्त राख्न चिकित्सक आफैं चिन्तित हुन्छ। यदि एक दिनको ज्वरो भएको बिरामीमा पछि गएर कुनै गम्भीर रोग देखा पर्यो भने सबैभन्दा पहिले प्रश्नको घेरामा चिकित्सक नै पर्छ—चाहे त्यो जति नै व्यस्त किन नहोस्। उनलाई दोष दिइन्छ—“त्यतिबेला किन रोग पहिचान गर्न सकेन?” कहिलेकाहीँ त चिकित्सकको नियतमाथि समेत प्रश्न उठाइन्छ।
सर्जरीको अवस्था झन् गम्भीर हुन्छ। एउटा सामान्य शल्यक्रियामा पनि धेरै अनिश्चितताहरू हुन्छन्— कुन नशा अचानक सक्रिय भएर रक्तस्राव हुन्छ, कुन जटिलता कहिले देखा पर्छ— यो कसैले पूर्वानुमान गर्न सक्दैन। अपरेशन सकिएपछि पनि सर्जन भावनात्मक तनावमा रहन्छ। हरेक शल्यक्रियापछि सर्जन तनावमा हुन्छ।
एनेस्थेसियाको अवस्था त आंधी हुरिको बेला जहाज उडाइरहेको पाइलटले के गर्ने भन्ने निर्णय सेकेन्डको अंशमा गर्नुपर्छ, त्यसरी नै एनेस्थेसियोलोजिस्टले अपरेशनका क्रममा बिरामीको ज्यान जोगाउन अक्सिजन स्तर वा रक्तचाप घट्नासाथ सेकेन्डको अंशमै निर्णय लिनुपर्छ। अलिकति ढिलाइ भयो भने बिरामीको ज्यान जोखिममा पर्न सक्छ।
प्रसूति विज्ञान त झन् सबैभन्दा जोखिमपूर्ण क्षेत्र हो। कुन गर्भवती महिलामा अचानक अधिक रक्तस्राव PPH (Post-Partum Hemorrhage) हुन्छ— कसैले पनि पहिले नै भन्न सक्दैन। तर प्रत्येक गर्भवती महिला सम्भावित अधिक रक्तस्राव PPH केस हुन सक्छिन्, जसले चिकित्सकलाई अत्यधिक तनाव दिन्छ।
प्रसवपछि यदि बच्चालाई सास फेर्न गाह्रो भयो भने सेकेन्डको निर्णय जीवनभरका लागि महत्त्वपूर्ण हुन्छ। अलिकति ढिलाइले बच्चालाई आजीवन मानसिक वा शारीरिक अपाङ्गता हुन सक्छ।
यी त स्पेसालिस्ट चिकित्सकहरूको तनावको केवल एउटा झलक मात्र हो। चाहे कार्डियक सर्जन होस् वा न्युरो सर्जन— हरेकजना कुनै न कुनै स्तरको तनावमा बाँचिरहेका हुन्छन्। तर पनि उनीहरू आफ्नो तनाव दबाएर काम गरिरहेका हुन्छन्।
साथीहरू, तपाईंका डाक्टरले केवल तपाईंको रोग मात्र उपचार गर्दैनन्— उपचार सुरु गर्नु अघि उनीहरूले तपाईंका ती नदेखिएका आशंकाहरूसँग पनि लडिरहेका हुन्छन्, जुन तपाईंका लागि डरको कारण बन्न सक्छ। “सामान्य ज्वरो” भनेर छोडिएको ज्वरो साँच्चै सामान्य नै हो कि होइन? हरेक शल्यक्रियापछि सम्भावित जटिलताहरू तपाईंलाई बताइयो- तपाईं बुझेर या नबुझेर राति निश्चिन्त निदाउन सक्नुहुन्छ, तर तपाईंका डाक्टर निदाउन सक्दैनन्। निश्चिन्त रहनु तपाईंको अधिकार हो, तर त्यो निश्चिन्तता दिलाउने जिम्मेवारी तपाईंका डाक्टरहरूको काँधमा हुन्छ। तपाईंको मुहारको मुस्कान र तपाईंको स्वास्थ्यका लागि एउटा डाक्टर आफ्नो तनाव, निद्रा र बेचैनी त्याग्छ। परिवारसँग बिताउनुपर्ने समय, बच्चाहरूको मुस्कान, व्यक्तिगत खुशी— यी सबै कुराहरू धेरैपटक चिकित्सकहरूले त्याग्छन्।
हामी चिकित्सकहरूले तपाईंको हिस्साको तनाव आफूभित्र विषजस्तै सोस्छौँ— ताकि तपाईं सुरक्षित र निश्चिन्त महसुस गर्न सक्नुहोस्। तपाईंको स्वास्थ्य हाम्रो परम धर्म र सेवा हो। यही हाम्रो कर्तव्य हो, यही हाम्रो सबैभन्दा ठूलो साधना। मेरो अनुरोध छ— आफू र आफ्ना परिवारका बिरामीहरूका लागि आफ्ना डाक्टरहरूमा विश्वास राख्नुहोस्।