Saturday, January 10, 2026

एकदिनको ज्वरो


एम.डी. पढ्दाका दिनहरूमा मेरो प्रोफेसरले सधैं भन्नुहुन्थ्यो—“एक चिकित्सकका लागि एक दिनको ज्वरो भएको बिरामीको उपचार सबैभन्दा चुनौतीपूर्ण हुन्छ।”

हामी बिरामी र बिरामीका आफन्तलाई प्रायः आश्वस्त पार्छौँ—“आत्तिनु पर्दैन, यो त सामान्य ज्वरो हो।”
तर भित्र–भित्रै एउटा चिकित्सकलाई थाहा हुन्छ— यो ज्वरो कुनै गम्भीर रोगको सुरुआती संकेत पनि हुन सक्छ। धेरैपटक यही हल्का देखिने ज्वरो मलेरिया, डेंगु, क्यान्सर, ल्युकेमिया, बाथ, एन्डोकार्डाइटिसजस्ता गम्भीर रोगहरूको पहिलो झलक हुन सक्छ। यस्तो अवस्थामा सही समयमै रोग पहिचान गर्न नसकिए चिकित्सकलाई गहिरो तनाव र दबाबको सामना गर्नुपर्छ।
बिरामीलाई निश्चिन्त राख्न चिकित्सक आफैं चिन्तित हुन्छ। यदि एक दिनको ज्वरो भएको बिरामीमा पछि गएर कुनै गम्भीर रोग देखा पर्यो भने सबैभन्दा पहिले प्रश्नको घेरामा चिकित्सक नै पर्छ—चाहे त्यो जति नै व्यस्त किन नहोस्। उनलाई दोष दिइन्छ—“त्यतिबेला किन रोग पहिचान गर्न सकेन?” कहिलेकाहीँ त चिकित्सकको नियतमाथि समेत प्रश्न उठाइन्छ।

सर्जरीको अवस्था झन् गम्भीर हुन्छ। एउटा सामान्य शल्यक्रियामा पनि धेरै अनिश्चितताहरू हुन्छन्— कुन नशा अचानक सक्रिय भएर रक्तस्राव हुन्छ, कुन जटिलता कहिले देखा पर्छ— यो कसैले पूर्वानुमान गर्न सक्दैन। अपरेशन सकिएपछि पनि सर्जन भावनात्मक तनावमा रहन्छ। हरेक शल्यक्रियापछि सर्जन तनावमा हुन्छ।

एनेस्थेसियाको अवस्था त आंधी हुरिको बेला जहाज उडाइरहेको पाइलटले के गर्ने भन्ने निर्णय सेकेन्डको अंशमा गर्नुपर्छ, त्यसरी नै एनेस्थेसियोलोजिस्टले अपरेशनका क्रममा बिरामीको ज्यान जोगाउन अक्सिजन स्तर वा रक्तचाप घट्नासाथ सेकेन्डको अंशमै निर्णय लिनुपर्छ। अलिकति ढिलाइ भयो भने बिरामीको ज्यान जोखिममा पर्न सक्छ।

प्रसूति विज्ञान त झन् सबैभन्दा जोखिमपूर्ण क्षेत्र हो। कुन गर्भवती महिलामा अचानक अधिक रक्तस्राव PPH (Post-Partum Hemorrhage) हुन्छ— कसैले पनि पहिले नै भन्न सक्दैन। तर प्रत्येक गर्भवती महिला सम्भावित अधिक रक्तस्राव PPH केस हुन सक्छिन्, जसले चिकित्सकलाई अत्यधिक तनाव दिन्छ।

प्रसवपछि यदि बच्चालाई सास फेर्न गाह्रो भयो भने सेकेन्डको निर्णय जीवनभरका लागि महत्त्वपूर्ण हुन्छ। अलिकति ढिलाइले बच्चालाई आजीवन मानसिक वा शारीरिक अपाङ्गता हुन सक्छ।

यी त स्पेसालिस्ट चिकित्सकहरूको तनावको केवल एउटा झलक मात्र हो। चाहे कार्डियक सर्जन होस् वा न्युरो सर्जन— हरेकजना कुनै न कुनै स्तरको तनावमा बाँचिरहेका हुन्छन्। तर पनि उनीहरू आफ्नो तनाव दबाएर काम गरिरहेका हुन्छन्।

साथीहरू, तपाईंका डाक्टरले केवल तपाईंको रोग मात्र उपचार गर्दैनन्— उपचार सुरु गर्नु अघि उनीहरूले तपाईंका ती नदेखिएका आशंकाहरूसँग पनि लडिरहेका हुन्छन्, जुन तपाईंका लागि डरको कारण बन्न सक्छ। “सामान्य ज्वरो” भनेर छोडिएको ज्वरो साँच्चै सामान्य नै हो कि होइन? हरेक शल्यक्रियापछि सम्भावित जटिलताहरू तपाईंलाई बताइयो- तपाईं बुझेर या नबुझेर राति निश्चिन्त निदाउन सक्नुहुन्छ, तर तपाईंका डाक्टर निदाउन सक्दैनन्। निश्चिन्त रहनु तपाईंको अधिकार हो, तर त्यो निश्चिन्तता दिलाउने जिम्मेवारी तपाईंका डाक्टरहरूको काँधमा हुन्छ। तपाईंको मुहारको मुस्कान र तपाईंको स्वास्थ्यका लागि एउटा डाक्टर आफ्नो तनाव, निद्रा र बेचैनी त्याग्छ। परिवारसँग बिताउनुपर्ने समय, बच्चाहरूको मुस्कान, व्यक्तिगत खुशी— यी सबै कुराहरू धेरैपटक चिकित्सकहरूले त्याग्छन्।

हामी चिकित्सकहरूले तपाईंको हिस्साको तनाव आफूभित्र विषजस्तै सोस्छौँ— ताकि तपाईं सुरक्षित र निश्चिन्त महसुस गर्न सक्नुहोस्। तपाईंको स्वास्थ्य हाम्रो परम धर्म र सेवा हो। यही हाम्रो कर्तव्य हो, यही हाम्रो सबैभन्दा ठूलो साधना। मेरो अनुरोध छ— आफू र आफ्ना परिवारका बिरामीहरूका लागि आफ्ना डाक्टरहरूमा विश्वास राख्नुहोस्।

Wednesday, August 6, 2025

लुम्बिनी अस्पताल ( मुक्तक)

बिरामी हुनेलाई उपहार हो यो!
लुम्बिनी अस्पतालको उपचार हो यो!

छन सबै सुबिधा, लिन जानू पर्छ,
जीवन दान पाए, यादगार हो यो!

Sick seeks a Gift​, for those, here it is!

The treatment of Lumbini Hospital, it is!!

​All facilities avail, one just has to reach,

Life becomes a present, memory to cherish!!

Monday, February 17, 2025

परिचारिका ज्युलाई धन्यवाद!

रोग हराइ, स्वस्थ ज्यान टिकाउने तिमी!
आँसु मेटि, हांस्ने कला सिकाउने तिमी!!

कुरि बसें मेरी आमा दम फुलि गल्दा, 
आफ्नो बिर्सी, अरु पीडा बिसाउने तिमी!

Sunday, February 16, 2025

बिरामी मनोबाद (गजल)

बिरामी हुनुको अफसोस कस्तो?
"गरिब बिरामी" आफू, अझ होस कस्तो?

छु इमर्जेन्सीमा, आएंछु  तन दुखेर,
तीन- एक बेडमा, तर होओस कस्तो?

चापै यस्तै छ, कैले होला र कम?
अस्पताल सबको, खोसाखोस  कस्तो?

भर्ना भन्दैछन डाक्टर, कति बस्नु पर्ने? 
बेड छैन रे वार्डमा, गरौ रोष कस्तो?

सुबिधा सेवा बढे, स्वास्थ्यकर्मी बढे,
सबै छ राम्रो, तर खै जोश कस्तो?

LOCK DOWN को बेलाको डायरी

देश लकडाउन छ । बिचार लक डाउन छैन । 
अनेक थरि तर्कन हरु मनमा आउछन्, उफृन्छन्, अनि  जान्छन ।
कुनै कुराले पनि दिलमा राम्ररी डेरा जमाउन सक्दैन । अझ भनौ कन्सन्ट्रेसन छैन्, फोकस् कम भएको बत्ती झै मन को बत्ती बत्ती बलिरहेछ । बल्न त बलिरहेछ्, तर उज्यालो छर्न सकिरहेको छैन ।
आज एक हप्ता भैसक्यो लकडाउनको । बाटोहरु सुनसान छन । एकदुई हामीजस्तो स्वास्थ्यकर्मिका मोटर साइकल्, दुईचार  अन्या बरीष्ठ कर्मचारीका गाडी, अनि ५-७ साईरान बजाउदै हुइकिने एम्बुलेन्स या पुलिसका गाडी बाहेक अरु चरो मुसो सडकमा छैन । धेरै मान्छे हरु घरमै खांदिएका छन । घर भएका हरु त मज्जाले करेसाबारीमा साग रोप्तै, त्यही सागलाई मुसार्दै बसिरहेहोलान्, घर नहुनेहरु कोठा चोटा दिनको दशचोटि पुछ्दै बसिरहे होलान । 
जे होस् मान्छे ले आफुलाई चिन्ने समय पाएको छ ।

तर हामीजस्ता को दैनिकी खासै फेरिएको छैन । फेरिएको भनेको त्यै एउटा कुरा हो, हस्पिटल जांदा जाम हुँदैन, अनि खाने बेलामा खाजा कंही पाइदैन, हस्पिटलको क्यान्टिन धन्न छ चलिरहेको, र ३६ घण्टे ड्युटिमा पनि पेटको त्यान्द्रो घसृरहन समय पाइरहेछ ।
लक डाउन भनौ या लक अप्, जे भए नि लक भई रहेछ । सबै बढीरहेछ्न । कोही आफु भित्र, त कोही बाध्यता भित्र । धन्न मान्छे लाई मन वहाँलाउने अनेक वहाँना छन्, र मान्छे बहुलाउदैनन्, नत्र अहिले मानसिक अस्पताल खचाखच हुन्थे होलान । 

समय यस्तै रहने छैन्, कोरोना नियन्त्रणमा आउला, आशा गरौ छिट्टै । मान्छे विचरण गर्न पाउन पहिले झै । तर यस बिचमा, केही सिकुन मान्छेले, जो साच्चै प्रकृतिले सिकाउन खोजिरहेछ ।

संसार मान्छेको मात्र होइन, अरु जिवात्मा बनस्पति सबैको हो । सिमे भुमे पुजेर मात्र हुँदैन, व्यबहारता मान्छेको प्रकृति प्रतिको आक्रमण जसरि बढेको छ, त्यो रोकिनु पर्छ ।

गमेर सोच्ने यतिका समय पाइयो, आखीर फोकस गर्ने समय मा तनाव धेरै लिएर भएन । 
गर्न नहुने र गर्न पर्ने के के हो भन्ने बुझ्ने समय पाइयो, मान्छे अलिकति भएनी नैतिक शिक्षा, व्यवहारिक शिक्षा सिक्ने मौका पाइयो ।