Monday, February 6, 2017

वाष्पिकरण

.......र दिन रित्तियो! " रिभरभ्यु क्याफे" को छतमा बाहिर पट्टिको मुढामा बसिराखेको थिएं! वेटर आयो!
"सरको अर्डर!"
" धन्यवाद भाइ" को इशारामा मैले उसलाई जाने सन्केत गरें!
बिचरा उ, लुरुलुरु फर्केर गयो!
मेरो मन एकतमासको भैराखेको थियो! कारण? अहं मलाई नै थाह थिएन! सायद रेगुलर एकैनासको कामले गर्दा शरीर अनि मनले ब्रेक खोजिरहेथ्यो! सोचाइका प्रबेग ज्वार भाटाहरु तल बगिरहेको खोलाभन्दा गिड्गिडाउदै मेरो मथिङ्गल घच्घच्याइ रहेका थिए! खै के पो विषयमा सोच्दै थिए म!
एउटा चुरोट सल्काए!
धुवा फुरुरु उडेर माथी गयो, मानौ मेरो मनका असान्दर्भिक लेउ लगाउने खराब पानी यसरी नै वाष्पिकृत भएर उडिरहेको थियो!
चिया चिसो हुनै आट्यो!
सुरुप्प पारें! चिच्याउन मन थियो, तलको खोलाको पानी तताएर सिधै कपमा हाल्छौ क्या साहुजी? तर, अंह, यो ठामको इज्जत राख्नै पर्यो, सबैभन्दा उत्तम क्याफे भनी चर्चा पाएको यो ठाममा म एकान्त भएर एक्लोपन उतार्दै थिएं! सायद आज मेरो मुड यसै भएर होला, केही चिजमा लगाव महसुस गरिरहेको थिइन! दिउँसो, कक्षामा पढाउदा सहभागीले भन्दैथिए, सर लाई घर जान मन लागे जस्तो छ! तर नांई मलाई घर मात्र हैन कहि पनि जाने मन थिएन, त्यसैले त त्यहां पुगेको थिए!
चिया दुई खेप आइपुग्यो, र चुरोट जसरी नै सकियो! माथी दक्षिण पुर्बको अग्लो मसिने लेकको टावरको बत्ती शुक्र ग्रह जसरी तिल्पिलाएको देखियो! उता पस्चिमको मालागिरी डाँडा सामसुम छ! भर्खरै अस्ताएका घामकिरणका केही धर्सा अवशेष जसरी माथिको बादलमा ठोक्किएर पहेलो पारिरहेथे!
जमाना परिवर्तन भएको छ, केइ मन बहलाउने चिज नभएनि मोबाइल छ! यसो झिके जस्तो गर्यो, डाटा अन गर्यो, सोसियल मिडिया हेर्यो मुस्कुरायो अनि बस, हुने नहुने कुरासँग परिचय बाड्यो! तुक बिर्सियो!
मोबाइलको नोटिफिकेसन बारमा भाइबर मेसेजको सन्केत देखियो! हेरें!
"के छ गतिविधि ?"
"ठिकै , सम्थिङ इज लो"
अलिक भाउ खोजेर जवाफ फर्काएं!
"तिम्रो नि?"
"म बाहिर गाथें, पारिवारिक घुमघाम आज!" मुस्कुराएको स्माइलि सहित जवाफ आयो! न मलाइ मुस्कुराउन थियो, न केही उत्साह!
फेरि आयो, "दिउँसो फोन उठाउन नपाको मा सरि ल!"
" ठिकै छ, रेस्पोन्ड त हुन सक्थ्यो नि?"
" भन्नाले?"
" काटिदेको भए हुन्थ्यो त!"
" सरि भने नि त! छोड यो कुरा! अरु केही कुरा गरौ न!"
" के कुरा?"
"एनिथिङ्ग यु लाइक!"
" मलाइ यहाँ वरिपरिको सब चिज मन पर्छ..... र टाढाको पनि।"
" अच्छा! भन के भएको तिमिलाई, लो अनि हाइ को कुरा गर्दैथियौ त!"
" केही होइन, आज अलिक लो छु!"
" बिपि लो?" उस्को मलाई अलिक खुसी पार्ने मुडको म्यासेज आयो!
" मलाइ नजिस्क्याउ, जाउ आफ्नो काम गर!"
" मेरो काम सबै सकियो, खाना पकाइवरी सक्काए! अब केही बेरमा खाने!"
" कति खान पर्छ है?"
" जति सम्म पाइन्छ!
.....गीत सुनेर बस, मुड ठिक होला!"
" संगीतमा मात्र त्यतिका दबाइ हुने भए म डाक्टर हुने थिएन!"
उसको अट्ठहासको स्माइली आयो! मलाई प्रत्युत्तरमा केही लेख्न मन लागेन!
केही जवाफ नदिइ म डेटा अफ गरेर भर्याङ्ग झरें! काउन्टरमा भोलि भेटौलाको संकेत गर्दै म बाहिरिएं!

खुल्ला सीधा बाटोमा असिको स्पिडमा बाइकमा कुद्ने जस्तो मन भैरहेको थियो! बाटो पो कहाँ छ र यहाँ?
थाहै नपाइकन म बाइपास रोडमा धेरै पर पुगिसकेको थिए! सायद मेरो बाइकको गति मलाई ख्याल नै हुने थिएन होल, जब अर्को दिशाबाट आइरहेको ट्रकको हर्नले मेरो ध्यान भङग गरेको हुन्थेन भने!
बाइक कुनामा लगेर रोकें!

शरीर लुगलुग कापिरहेको थियो!
ट्रकको खलासी खै के जाती चिच्याउदै गएको सुनें!
एउटा चुरोट सल्काएं! अनि तल बिस्तारै बगिरहेको खोला तर्फ हेर्दै बसे! मेरो चुरोट्को ठुटोको प्रतिविम्ब अनि माथी मसिने लेकको टावर को बत्तिको प्रतिबिम्ब दुबै परिरहेका थिए!
शान्त रह परेको ठाउँ नजिकै रोकेको रहेछु मैले!
देखें, म सङ्गै भएको ठुटोको प्रतिविम्ब धुवां सहित बिलाएर गयो! माथी लेकको बत्तिको प्रतिविम्ब भने अझै चम्कीरहेको थियो रहको शान्त पानीमा!
सायद, धुवाँले धुवांवाला चुरोटको ठुटोको प्रतिम्बिम्ब उडाएर लगिदियो, मेरो मनका लेउ हरुका क्लेष हरु सङ्गै!
अब वास्तविकता सामु आइसकेको थिए! अघि एड्रेनालिन सर्जले गर्दा कापिरहेको म अब जाडोले काप्न थालिरहेको थिएं!
बिस्तारै बाइक घुमाएं, अनि आफ्नै डेराको बाटो काट्न लागें!

डेरामा पुगें! थोरै सुप पिएं र ढल्किएं! एकछिन एउटा किताब पल्टाएं!
दस बजे तिर मोबाइलको आवाज आयो!
हेरें, उसैको मेसेज रहेछ!
"के भएको तिमिलाई? सांच्चै नभन्ने? भन न, कुरा शेयर गर्यो भने हल्का हुन्छ के!"
" हैन, अहिले ठिकै छु, अलिकती घुम्न निस्किएको थिए!"
" ए, त्यसो पो! खुसी लाग्यो, केही भएपनी ठिक भएछौ तिमी! तिम्रो बिदा कहिले छ?"
" छैन, बिदा सिदा!  अनि तिमी त सुतिसक्नुपर्ने यतिखेर!"
" अँ, एक निन्द्रा मा जागेको! कस्तो पत्ता लागाउछौ भने नि!"
" त्यति त जाशुस छु!"
" जे होस तिमी केही भएनी खुसी सुनियौ!"
" म अलिकति मुस्कुराएं अनि रोकिए!"
" किन रोकियौ?"
" सायद,  डोज बढाउन पर्छ कि, या मेन्टेन्यान्स डोज दिन पर्ला !"
" के गर्नु पर्ला त्यसको लागि?"
" कुन्नी त, मलाई थाह भए, मैले कसैलाई गुहार्थें त?"
" अं के , म कस्तो उल्लु छु है!"
" अं, म जस्तै! हाइ फाइव!"
" हाइ टेन!"
" म के गरुं, यतिका दशवटा हाइ सङग!"
" तिम्रो दुबै हात मा हाइ फाइव गर्दा , हाइ दश भको नि त!"
" हाहाहाहाहा"
" उ... तिमी हाँस्यौ!"
" ए झुक्किएछु ! तिमिले गर्दा हांस्या हो म!"
" साच्ची?"
" अं, यु आर समहाउ फन्नी समटाइम्स!"
" समटाइम्स मात्र?"
" अनि के त?"
" केही होइन!"
" धन्यवाद , त्यसोभए!"
"लौ बत्ती बलेजस्तो छ नि मनको ऐले चांहि!"

मेरो मनको बत्ती त टाढा मसिने लेकको बत्ती जस्तो थियो, ननिभ्ने कहिले पनि! ...प्रतिविम्ब पनि अविचल देखिने! चुरोट्को ठुटोको जस्तो क्षणिक प्रतिविम्ब त थाह नपाएको, अव्यक्त , हुँदै नभएको दुख पो थियो, जुन समयक्रम सङ्गै धुवांसङ्गै बिलायो! त्यो ट्रकको हर्न अनि मेरो बाइकको ब्रेकले आज शरीर र मन दुबैको ब्रेक दियो, अनि अझ बढी जीवनमोह पनि!  र अहिले म साच्चिकै खुसी भैसकेको थिएं, किनकी धुवां र विचारबन्धन त मलाई स्विकार्य थिएन!

...र, अब जवाफ लेख्ने पालो मेरो थियो!
मुस्कुराएको स्माइली नै सबैभन्दा उपयुक्त जवाफ लाग्यो मलाई! 
...........