कुरो इमरजेन्सी को! आफू जुनियर लामपुच्छ्रे डाक्टर (इन्टर्न) हुँदा सुरु सुरु बखतको!
रातको करिब १ बज्या हुंदो हो! इमरजेन्सिका हाउस अफिसरहरु हाइ हाइले च्यापेर ड्युटी रुममा रेस्ट गर्न गैसकेका थिए! ड्युटी काउन्टरमा केही सिस्टर हरु अनि मेडिसिनका एक जुनियर रेजिडेन्ट दाइ अनि म थियौ!
एक्कासी इमरजेन्सी को बाहिरपट्टी एम्बुलेन्स को साइरनको आवाज आयो!
यो कुन चाँहि पो नौलो कुरो भो र? इमरजेन्सी छेउछाउमै त साइरन बज्छ नि भन्नुहोला हजुर तर, यसपछिको घटना चै मेरो लागि अझ महत्वपुर्ण छ!
स्ट्रेचरमा दौडाउदै एक अधबैसे पुरुष बिरामीलाई उसका आफन्त हरुले भित्र हुले! सुरुमा जाँच्ने त मै परें! यसो सोधेको, कहिँ काम गर्न गाको फर्किदाँ खेरी सम्मन ठिकै थ्यो, एक्कासी छातीमा अफ्ठ्यारो भयो भन्नुभयो अनि त होसगुम भयो रे!
सरर, होस नभएको व्यक्तिलाई जाँच्ने प्रोटोकलमा हेरें! बिपि, पल्स भेट्टाउनै पो मुस्किल भो!
अब सिपिआर (छाती थिचेर तथा कृत्रिम स्वासप्रस्वास द्वारा फोक्सो र मुटुको काम पुनर्स्थापना गर्ने इमर्जेन्सी उपचार) गर्न पर्ने हो भन्ने दिमागले भन्यो! धन्न, मेडिसिनको रेजिडेन्ट दाइ त्यहीं हुनुहुन्थ्यो! वहाँलाई चिच्याएरै बोलाएं! छिनभरमै ड्युटिमा रहेका सबै आए! युद्धस्तरमा सिपिआर सुरु भो! मोनिटर जोडियो! डिफिब्रीलेसन (मेसिनले छातिमा विद्धुतिय करेन्ट दिएर हृदयको गति नर्मल बनाउने इमर्जेन्सी उपचार) गर्न मिल्ने खालको इसिजी देखियो! अब डिफिब्रीलेसन गरियो! अनि केहि मात्रामा भए पनि हृदयको गति रेगुलर आउन लाग्यो! अनि बिरामी इन्ट्युबेट भयो! यतिबेलासम्म सिनियर कार्डियोलोजी र अन्य विशेषग्य सर हरुपनी आइपुग्नुभयो! बिरामिको सम्पुर्ण इमर्जेन्सी प्यानलका जाँच हरु भयो! समग्रमा कार्डियोजेनिक शक (मुटुको गति एक्कासी अनियन्त्रित भएकोले गर्दा) भन्ने कुरा निष्कर्षमा पुगियो! प्राय, त यस्तो शक धेरै जस्तो हृदयघातमा देखिन्छ!
त्यसपछी बिरामिलाई केहि दिन सिसियु (मुटुरोग बिभागको आइसियु) भर्ना गरियो, कार्डियोलोजिका, एनेस्थेसियाका अनि अन्य बिशेषज्ञहरुको प्रत्यक्ष निगरानिमा! म भने इमर्जेन्सीमा रोटेसन भए पनि वहाँलाई के भयो होला, कस्तो हुदैछ, उपचार कसरी गरिदैछ भनेर बुझ्न दिनको कम्तिमा दुई चोटि हेर्न जान्थें! सिकारु डाक्टर भएसी केस फलो त गर्नै पर्यो!
पूरा तीन दिनको लगातार निगरानी अनि सघन उपचारले चमत्कारिक सुधार भएको थियो! अब एक्सटुबेट (भेन्टिलेटरबाट छुटाउने) गर्न सकिन्छ भनेर एनेस्थेसिया बिभागका सिनियरहरु भन्दै हुनुहुन्थ्यो! अनि बिहानिको राउन्डपछी, सबै सिनियर हरु भएको बेला नै भेन्टिलेटर अफ गरेर बिरामिको मुखमा राखेको पाइप झिकियो! अब बिरामिलाई नाक, मुखबाटै सास फेर्नुस,बोल्नुस, खोक्नुस भन्दै थियौं !
अरे वा, कस्तो राम्रो भएको, वहाँले राम्रोसँग सास फेर्न सक्नुभयो, अनि मोनिटरका सुचकहरुले नि निकै राम्रो देखाए! हामी सबै खुसिले गदगद भयौ!
अनि वहाँले हातको इशाराले मलाई अलिक नजिक बोलाउनु भयो, किनकी म वहाँको छेउमै थिएं, अनि सोध्नुभयो, " मेरो दाहिने हातको औँठी अनि सिक्री खोइ?"
"त्यो त इमर्जेन्सी मा हुँदा हजुरको भाइलाई दियौं दाइ", मैले भने!
म अझ खुसी भएं, र भगवानलाई मनमन धन्यवाद भनें! यस्तो लगभग मरेर बाचेको वहाँमा धन्न कुनै जटिलता रहेनछन! यस्तो अवस्थाबाट गुज्रिएको मान्छेलाई एक त बचाउनै गारो हुन्छ, र जटिलता नभईकन बचाउन झन गारो! विकसित देशहरुमा समेत यस्तो अवस्थाको मृत्युदर ७०% सम्म हुनेगर्छ!
जे भनेपनी यो मान्छेको आधारभुत स्वभाव हो! आफ्नो बहुमुल्य कुरा झ्याप्पै सम्झनुभो र सोध्नुभो!
थ्यान्क्स गड! एन्ड, बधाई हाम्रो टिमलाई!