[{ भन्नु पर्दैन भो मलाई, मसंग भेटेर फर्किंदा
तिमीले कुन बस चढ्यौ, कुन सिट मा बस्यौ। पल्लो पट्टि झ्यालको सिटमा बस्ने केटाले
तिमीलाई कसरि हेर्यो, अनि तिमीले आफ्नो सललाई कसरि छातीसम्म छोपिने गरि सार्यौ।
अनि कति छिट्टै झर्ने स्टेसन आइपुग्यो, अनि बाहिर पानी परिराखेको थियो, तर तिमि
संग छाता थिएन। अनि सलले कपाल छोप्दै तिमि दगुरेउ, अनि घर पुग्यौ। रुझेको कारणले गर्दा
तिमीलाई ज्वोरो आउला जस्तो भएको छ, रुघाले समाती सकेको छ। अनि आमाले तिमिलाई तातो
सुप दिनुभयो। त्यो सुप सुप पियौ, अनि ब्लान्केटको न्यानो भित्र लुसुक्क छिर्यौ।
र सबै बिर्सियौ।
बरु भनन, सम्झिने
दुस्प्रयास गर्न सक्छौ भने, मसंग छुटेर गएपछी तिम्रो मनले कहा कहा यात्रा गर्यो?
के सोच्यो, के सम्झ्यो? के बिर्सिन खोज्यो? के बिर्स्यो? अनि के बिर्सिने बहाना
गर्यो?
कोरिरहेछु, एक मनगढ़न्ते तमसुक मनोबाद, साक्षी सबै राखी, मात्र तिम्रो ऋण चुकाउनको लागि प्रतिबद्धता! पढ़नेछौ, राख्नेछौ (तिमिले), भन्ने आशा लिएको छु।
मैले बाइ भनेर हात
हल्लाउंदा, निमेषभरको लागि मलाइ फर्केर हेरिदियौ, यत्ति मै खुसि छु म त। अनि सरासर गयौ,
जुन बाटो तिमि आएको थियौ। मैले हेरी रहें पर सम्म जहांंसम्म चस्मा लगाएरै भए नि मैले
तिम्रो प्रतिच्छाया महसुस गर्न सक्दथें। निकै पर पुग्यौ, एउटा गाडी आयो, रोक्यौ, अनि उसैमा चढेर बत्तियौ।
तर म तिमीले समातेको
हात अझै तातै महसुस गर्दै थिए।
बसको झ्यालबाट बाहिर
हेरिरहंदा या, तिम्रो गीतको प्लेलिस्ट बाट गीत सुनिरहदा तिम्रो मनमा म कतै अटाइंन?
भन न, मेरो नजिकै
हुदा तिमि कसरि मुस्कुराउन सकेकी हौ? म अझै सम्म त्यहि एक मुस्कुराहट लाइ पल पल
सम्झेर त्यसैलाई उतार्ने प्रयास गर्दैछु।
मेरो बच्चाजस्तो
ब्यबहार तिम्रो सामु हेर न। सारै नै केटा केटि छु के है? न केहि कुरा लुकाउन
सक्छु, न केहि कुरा मिलाएर गर्न जान्दछु। स्टुपिडिटि को नमुना कहिलेकाही चाहियो
भने सम्झी दिए हुन्छ ल।
भन न, म संगै हुदा
तिमीलाई के कुराको छटपटी थियो अनि त्यसलाई छोप्न, कसरि तिमि मुस्कुराईरहेकी थियौ?
मैले तिम्रो हात समातिरहदा कसरि तिम्रो मुटु धड्किरहेथ्यो, तर तिमि सामान्य
देखिईरहेकी थियौ?
अनि बसमा यात्रा
गर्दा बतासले फुरुरु उडीरहेका तिम्रा केशराशिहरु कान पछाडी सिउरिदै गर्दा तिमीले
केहि सम्झ्यौ?
लौ अरु सबै बिर्सिऊ।
म मात्र त्यत्ति जान्न चाहान्छु, अहिले तिम्रो मनमा के गुज्रिरहेको छ? बताइदेउ त्यत्ति
मात्र। धेरै केहि सोध्दिन, प्रतिप्रश्न मेरो बिषय होइन, त्यो तिमि राम्ररि जानेकी
नै छौ।
कसैले "तिमी को हौ" भनेर सोधिदिंदा सबै भन्दा पहिले के याद आउँछ? आमाले साझ अबेर गरि घर फर्किदा गाली गर्दा रिसले मुर्मुरिइरहदा अरु केही पनि सोचाई आंउदछ?
"म त कोहि पनि होइन" न तिम्रो लागि, न कसैको लागि! आफ्नै लागि मात्र हुँ! रह्यो कुरा आमाको। आमाले जति गाली गरेपनी, मायाले नै भनेको हुनुहोला, या, आमा हुनुको कर्तव्य निभाउनुभएको हुदो हो!
रिस त एउटा "भावनात्मक महसुस" न हो! आउँछ जान्छ!
र "सबै" भावनात्मक महसुसहरु आउछन, जान्छन्!
आमाको महसुसमा रगत को नाताको महसुस भन्दा ज्यादा भावनाको महसुस नघुलेको भए, रिसले तिमी मुर्मुरिनुको तुक हुने थिएन!
बांंकि कुरा, तिम्रो मनको यात्राको! जुन तिमी मात्र जान्दछौ!
अरुले गर्ने त सापेक्षताको अनुमान न हो! आफुले अर्कोलाई जुन हिसाबले महसुस गरिन्छ, त्यसरी नै उसले नि लिइदेओस जस्तो लागेर पुर्बाग्रही अनुमानको पोखरिमा डुब्छन मान्छे हरु!
अक्सर, त्यस्तो नहुदो रहेछ!
र त भावनात्मक महसुसहरु प्राय: रेसिप्रोकेट हुदैनन्! कोहि न कोहि साहु, कोहि न कोहि ऋणि हुन्छन्! भौतिकताको ठीक विपरित, भावनाको सम्बन्धमा जसले भावना दिन्छ, ऊ ऋणि अनि, अर्को साहु हुनेरहेछ! साहुको ऋण सपनामै सहि, चुक्ता भएको देख्न मन लाग्दो रहेछ!
तर, भौतिकताको ऋण जस्तो चुक्ता गर्न सजिलो नहुनेरहेछ, भावनाको ऋण!
जति कोसिस गरेपनी चक्रीय व्याजमात्र थपिने !
ब्याजको स्याज, स्याजको प्याज!
कि त साहु नै नदेख्ने गरि निकै टाढा भाग्नुपर्यो!
जति भागे पनि प .....र, अन्तरमनको साहु, सधै सपनामा टुप्लुकिइ हाल्छ!
र साहु प्रती अझ इमानदार देखिन मन लाग्छ!
प्रिय साहु,
मेरो हृदयबाट, तिमिलाई करोडौ "भावनाको महसुस" को लागि ऋणि छु! }]
लिखितम धनी साहु, नेपाल निवासी, (थाहा नभएको बाजे )कि नातिनी, (बाबूको नाम-थर-बतन सोधेको तर बिर्सेको)कि छोरी "फलानी काली मोरि हिस्सी परेकी" बर्ष ** कि, को नाममा, ऐ ऐ निवासी बाजेको नाति, बाबुआमाको छोरा, मैले जानी नजानी, पहिलो भेटमै ( जुन माथी उल्लेख गरिएको छ), अनायासै अभौतिक ऋणमा परेको साचो हो, र सो ऋण समयमै चुक्ता गर्नेछु भनी तपशिल बमोजिम साक्षी राखी तमसुक गरिदियाँ! सम्बत २०**, मास **, गते **, रोज ** शुभम्!
साक्षी रोहबर बस्नेहरु:
बुढीऔठाको छाप: दायाँ बायाँ