अव्यक्त द्वन्द्वहरूले मनमा जति डढेलो लगाए पनि बाहिर केही नगर्ने रहेछन् जबसम्म तिनीहरू व्यक्त हुँदैनन् उपयुक्त स्थान, समय र व्यक्तिसमक्ष । अहिले आएर यो मानसपटलमा तिनले साह्रै ठूलो स्थान जमाएर बसेका रहेछन् भन्ने महसुस हुन्छ । धेरै सुनियो, थोरै देखियो र नगण्य भोगियो, समयको अन्तरालसँगै जीवनका उकाली– ओरालीहरूमा घस्रँदै जाँदा बल्ल एउटा कान्लो पार भएछ क्यारे जस्तो लाग्छ । त्यतिखेरै अङ्कुरण हुनसक्ने क्षमता भएको भए अहिलेसम्म अव्यक्त द्वन्द्व रहिरहने थिएन यस मथिङ्गलमा ।
दिन रित्तिदैँ थियो । साँझपख डाँडामा चिसो बतास चल्न सुरु भइसकेको थियो । आकाशमा बाटो बिराएका एक–दुई टुक्रा बादल राताम्मे देखिन्थे । पहेँलपुर अन्नपूर्ण हिमशृङ्खला सुनको रासझैँ थुप्रिएको देखिन्थ्यो । दिनभर चारोको खोजीमा भौँतारिएका चराचुरुङ्गीहरू चिरबिर गर्दै आफ्नो गुँडतर्फ फर्किरहेका थिए । त्यो साँझको बेलामा बहिनी र म गाग्री लिएर पानी भर्न जाँदै थियौँ धारामा । त्यसदिन जे लेखेको रहेछ भएरै छाड्यो–हुनुपर्ने एकचोटि त भएरै छाड्थ्यो । मैले बिराएको त केही थिइन । हो, मलाई याद भएसम्म, भन्छु– त्यो नै पहिलो चोटि मैले कसैलाई देखेँ र भुतुक्कै भएँ । उनी थिइन् ‘दीपिका’, मेरी ‘बहिनीकी साथी’– उनको मामाघर हाम्रो गाउँमै पथ्र्यो र अबदेखि त्यहिँ बसेर पढ्ने भनी आएकी थिइन् रे उनी।
मलाई मेरी आमाले कुनै एकान्त ठाउँमा एक्लै जन्म दिनुभएको थियो । हुनसक्छ कोही आमाका दिदीबहिनीहरू हुँदा हुन् मलाई– पहिलोचोटि देख्ने तर तिनीहरू समयको खण्डिकरणसँगै जोडघटाउमा बिलाए । जरुर आमालाई देखेँ मैले, तत्पश्चात् बुवा अनि परिवारका अरु सदस्यहरूको अटुट माया, सद्भाव, ममता र सहयोगले मेरो जीवनमा अर्को महत्वपूर्ण पाटो बनाए । तर पनि अहिले यी जीवनका महत्वपूर्ण तत्वहरूका बीच मैले अर्को एउटा सत्य सिकेँ– सङ्घर्ष, बस् । भनिन्छ, जीवन एउटा खेल हो, हार या जीत के हुन्छ, त्यो हाम्रो हातमा हुँदैन तर खेल्ने कौशलता र क्षमता चाहिँ हातकै कलामा भर पर्छ । कुशल ज्ञान भए तापनि खेलाडी कहिले मैदान भित्र त कहिले बाहिर पर्ने गर्छ, यो शास्वत सत्य हो । वर्षात्को मौसम भए तापनि पानी त्यति परिनसकेकोले कालीगण्डकीमा बाढी आएको छैन–सजिलै पौडेर तर्न सक्थेँ म । के भर यो ठाउँ र समय, मैले भने जस्तो भइदिने भए त अरु कस्को के चल्थ्यो र ? हुन त अधिकांश मनोकाङ्क्षाहरू मेहनत र समयचक्रको प्रतिफल स्वरुप पूरा भएको नै मान्नुपर्छ । पछि फेरि घनिभूत वर्षा भएर तर्नै नसक्ने गरी गण्डकीमा बाढी आयो भने ? विचलित हुन्छ, घर फर्किन सकिँन भने त बेकारै हुन्छ, समय पनि त्यति अनुकूल छैन ।
तिनताका म दुई कक्षामा पढ्थेँ, उनीचाहिँ एक कक्षामा, मेरी बहिनीसँगै पढ्थिन् । त्यस साँझ पधेँरामा तिनलाई देखेपछि नै मेरो मन कताकता रोमाञ्चित भएको थियो । भुलेको थिएँ मैले आफैलाई । सात वर्षको त्यो उमेर, उनी पनि लजाएर शिर नत गरेको म अहिले पनि झल्झली सम्झन्छु । बहिनी र उनी साह्रो मिल्थे, पढाइमा पनि उत्तिकै तेज । बहिनी र उनको बराबरी जस्तो अङ्क आउने, एकचोटि भनेपछि, दोहो¥याउनु नपर्ने ।
वास्तवमा आज कालीगण्डकीमा सिमेन्टका ठूला–ठूला पुलहरू बनेका छन् । दिनहुँ हजारौँ बस, ट्रक, मोटरसाइकल, कार र भ्यानहरू कुद्छन् । करोडौँ लिटर पानी बग्यो होला गण्डकी हुँदै बङ्गालको खाडीतर्फ तर विडम्बना अहिले ‘कालीपारे मेरी बहिनीकी साथी’ ‘दीपिका’ कहाँ छिन् थाहा छैन । चासो त्यति नभएको पनि होइन तर समयक्रमले एक ठाउँमा लग्ने नै छ, आशा गर्छु । मृगतृष्णा यो जीवनमा, उही फुरुरु उड्ने जामा लगाएकी मेरी बहिनीकी साथी, माथि–माथि बादलपारी उडेको देख्छु । मलाई पनि उड्न मन लाग्छ– उनीसँगै एकदम माथि । जीजीविषा बढिरहेछ–उनकै उडानले– एउटी बाल्यकालकी साथीको प्रेरणाले ।
पहिलोपल्ट देखेदेखि नै म उनीप्रति अत्यन्त प्रभावित थिएँ । उनले मावलीमा बसेर नै सात कक्षा उत्तीर्ण गरिन् । पछि उनका मामाहरू तराईतिर सरेपछि हामी छुट्टिनु पर्ने बाध्यता भयो । म आजपनि उनीप्रति यति अनुगृहीत हुनुको अर्को कारण के पनि छ भने आज पो उनीसँग भेट भएको छैन, साँच्चिकै ‘मिस’ गरिरहेछु । भन्छन् नि– जीवनमा जसले दुःख–दुःख भोगेको छ, उसलाई सुखको महत्व थाहा हुन्छ, सधैँ विलास र आनन्दले बसिरहेकाहरूलाई के थाहा ? उनको र हाम्रो परिवारको कुनैपनि पारिवारिक नाता थिएन तर सम्बन्ध ज्यादै घनिष्ट थियो । उनका आमा–बा आउँदा हाम्रोमा नपसी कहिल्यै फर्कन्नथे । त्यसैले, एक त बहिनी मिल्ने साथी नै भइन्, उनी हाम्रोमा पढ्न, खेल्न र बस्न पनि बाक्लै आउँथिन् । आमा–बा पनि अत्यन्त माया गर्नुहुन्थ्यो उनलाई । आज मेरी बहिनीको बिहे भइसकेको छ, आमा–बा सोध्नुहुन्छ उनको बारेमा । बहिनी पनि के कम, उल्टै जिस्काउँछे मलाई बाल्यकाल सम्झाएर– दीपिकाले भन्थी रे, सानैमा यो कुरा भन्दै ।
एकदिनको कुरा थियो, बहिनी, म र उनी घाँस काट्न गएका थियौँ खरबारीमा । सायद असोज महिना नै हुनुपर्छ, मेरो आठौँ जन्मदिन आउन तीन दिनमात्र बाँकी थियो । एक त दशैँको चटारो, अर्को घरकै काममा व्यस्त हुनु परेकोले आमा हामीसित जान भ्याउनु भएन । हामी गफमा व्यस्त हुँदै घाँस काट्न अभ्यस्त नै थियौँ, तर काट्दा–काट्दै एक्कासी मेरो माझी औँलासमेत काटिन पुग्यो, जसको खत अहिलेसम्म छ । भलभली रगतका धारा बग्न थाले । मलाई अत्यन्त दुखेकोले रन्थनिएँ । बहिनी र उनी दगुर्दै आए । उनको कत्रो त्याग १ दुईदिन अघिमात्रै मामाले बजारबाट ल्याइदिएको जामाको फेरो काटेर मेरो घाउमा बाँधिदिइन् । बल्ल रगत बग्न बन्द भयो । त्यसपछि थोरै घाँस लिएर हामी घर फर्कियौँ । उनको जहिले पनि राम्रो कुराको समर्थन गर्ने र दुःख परेको बेला जस्तो त्याग र समर्पण गर्ने स्वभाव सम्झिँदा अहिले पनि आँखा रसाउँछन् । साँझमा घर फर्केपछि पो बल्ल कथा बन्यो त्यो दिनको, कहिल्यै गाली पनि नगर्ने तिनको मामाले चड्कन लगाए छन् ती कोमल गालामा । यो थाहा पाएपछि, त्यस दिन मैले खाना नै खाइँन । मेरी बहिनी त झन् रुँदैमात्र बसी ।
तिनका मावली घरका तराईतिर बसाइँ सरेको करिव सात वर्षपछि आज उनीसित भेट भयो । संयोग नै मान्नुपर्छ, बाल्यकालकी साथी, प्रेरणातारा– भगवान्ले नै जुराएका रहेछन् । काठमाडौँ नयाँ बानेश्वर चोकमा म बाटो काट्नलाई सवारी बत्तीको प्रतिक्षा गरिर हेको थिएँ । केही बेरमै हरियो बत्ती बल्यो । म अरुहरूसँगै बाटो पार गर्न लम्केँ । पारीपट्टीबाट उनी बाटो काट्दै रहिछिन् । बीच बाटोमा पुग्दा तिनलाई देखेँ, आश्चर्यमिश्रित दृष्टिले उनले पनि हेरिन् । कता– कता चिनेजस्तो लाग्ने, आफ्नै, अभ्यस्त अनुहार । यत्ति फरक हो पहिला जामा लगाएर छमछम नाच्ने पुतलीजस्ती उनी अलि अग्ली, कुर्ता–सलवार लगाएकी, कपाल अलि लामो भएको, ती गाला पुष्ट र अझ राता भएका, छाती पुक्क उठेको तर उनको हाँसो, बोली सबै उस्तै ।
“दीपिका ?१” म बोलेँ ।
“एऽ१ प्रभात पो, आम्मा तिमी त नचिनिने भएछौँ ?” सायद उनले मेरो उपल्लो ओँठमाथि लागेको जुँगाको रेखी र अलि–अलि उम्रेको दाह्री देखेर भनेकी होलिन् ।
“तिमी पनि” मैले भनेँ ।
त्यसपछि म उनीसँगै फर्किए बीच बाटोबाटै र मनमनमा सोचेँ –“अबचाहिँ ती अव्यक्त भावनाहरू भन्ने बेला आएको छ ।”
