Tuesday, January 27, 2015

स्वर्गीय हजुरबुवालाई निवेदन


                    -राजु पौडेल
हजुरबुवा! हजुरलाई के शव्दले सम्वोधन गरूँ | हामीले यस्तो अभ्यास पटक्कै गरेका छैनौँ | मैले सुनेको हजुर ३६ वर्षको हुँदा वि.स. २००६ मा हजुरको प्राण पखेरु उड्यो रे ! त्यतिखेर हजुरको कान्छो छोरा वा मेरो पिता जम्मा ४ वर्षको हुनुहुदोरहेछ | हामीले हजुरको सक्कल ठयाक्कै यस्तै होला भनेर अनुमान लगाउने हजुरको कान्छो भाई, जसले हामीलाई हजुरको अभाव कहिल्यै महशुस हुन दिनु भएन, उहाँको पनि चार वर्ष पहिले देहान्त भयो | हजुरहरुको निष्ठापूर्ण कामको प्रतिफलले हामी सवै कुशल-मंगल छौं | भगवान ईश्वरसंग प्रार्थना गर्छौं हजुरहरुलाई सदा स्वर्गीय आनन्द प्राप्त भई रहोस् |

      याद दिलाउने दुस्साहस गरें, क्षमा चाहन्छु ! हामीले सदियौंदेखि महान पर्वको रूपमा मनाउदै आएको ‘दशैँ’ जस्तै ‘क्रिसमस’ पर्व पश्चिमा गोरेहरुले अंग्रेजी पात्रो अनुशार हरेक डिसेम्वर २५ तारिखमा मनाउछन् | २४ तारिखको साँझ ‘क्रिसमस इभ’ को कार्यक्रमले अंग्रेजी नयाँ वर्ष र क्रिसमसको भव्य स्वागत गर्ने चलन छ | म अहिले तत्कालिन नेपाल उर्फ काठमाडौँमा जागिरे छु | २४ तारिखको साँझ कार्यालयबाट घर फर्किदै थिएँ, हजुरको चौथो पुस्ता अथवा मेरो छोरीले फोन गरिन् | उनि अहिले ६ वर्ष पुग्दै छन् | बाबा ! मेरो ‘क्रिसमस इभ’ को ग्यादरिंग छ मलाई ‘शेन्टा क्लोशको सेट’ ल्याईदिनुहोस् ल ! म अन्योलमा फसें! हजुरलाई फोन शब्द नौलो लागे होला मलाई त्यस्तै नौलो लाग्यो ‘शेन्टा क्लोशको  सेट’ भन्ने वाक्यांश | आखिर परिवर्तनको गतिलाई कसैले रोक्न सक्ने रहेनछ हजुरबुवा ! त्यसैले कलम चलाएँ हजुर मार्फत हाम्रा सवै स्वर्गीय अग्रजहरुलाई यो ७५ वर्षका विचमा भएका परिवर्तन र समस्याहरु  निवेदन गरूँ भनेर, आशा छ ग्रहण गर्नुहुनेछ |

        प्रथमत, सवै नीतिको नीति राजनीतिमा आएका परिवर्तनहरुलाई निवेदन गर्न चहान्छु | हजुरको देहान्त हुँदा श्री ५ त्रिभुवन राजा थिए, मोहनशम्शेर प्रधानमन्त्री | हजुर स्वर्गवास भएको ठयाक्कै एक वर्षपछि वि.स. २००७ मा नेपालमा ठूलो राजनीतिक आन्दलोन र परिवर्तन भयो | जनता संगठित पार्टीले शासन गर्न पाउने भए, जसलाई बहुदलीय शासन व्यवस्था भनियो | वि.स. २००८ मा प्रथम पटक जनताका छोरा मातृका प्रसाद कोईराला प्रधानमन्त्री भए | यो साच्चैको परिवर्तन थियो हजुरबुवा तर थिति बसेन | वि.स. २०१७ मा त्रिभुवनका छोरा श्री ५ महेन्द्रले शासन सत्ता आफ्नो हातमा लिई पार्टीहरुमाथि प्रतिबन्ध लगाइदिए | जनताको नाममा जनताले चुनेको प्रतिनिधिले शासन गर्ने प्रजातान्त्रिक व्यवस्था अल्पआयूमै मरयो जुन हजुरको मरण जस्तै जस्तै थियो | यसरी मरेको प्रजातन्त्र तीस वर्षसम्म ब्युँतेन | वि.स. २०४६ मा फेरी जनता उर्ले | प्रजातन्त्रको पुन: स्थापना भयो | वि.स. २०४७ मा संबिधान बनाए | विश्वको उत्कृष्ट संबिधान भनियो | त्यतिखेर हजुरको नाती बुझ्ने भैसकेको थियो | हजुरबुवा ईतिहास पढ्न जति आनन्द हुँदो रहेछ आफैले भोग्न गाह्रो हुँदोरहेछ | अवको राजनीतिक व्यथिति विस्तारमा वर्णन गरेर हजुरलाई दुखि तुल्याउन चाहन्न | यो विचमा नेपालमा हतियार सहितको क्रान्ति समेत भयो | म जस्ता १७ हज्जार मान्छे मरे | श्री ५ महेन्द्रका जेठा छोरा विरेन्द्रको बंश विनास भयो | हेर्नुहोस त हजुरबुवा तपाई हामीले विष्णुका अवतार मान्दै आएको राज परिवारमा यस्तो विभत्स हत्या हुँदा सवै राज संस्थाप्रति दिक्क भए | श्री ५ महेन्द्रका माहिला छोरा श्री ५ ज्ञानेन्द्रले राज्यारोहण गरे, राजा भए | उनि पनि मूर्ख रहेछन अप्ठ्यारो परिस्थितिमा फेरी शासन सत्ता आफ्नो हातमा लिए | सबै पार्टी मिलेर राजसंस्था नै निमिट्यान्न बनाईदिए | हामी गणतन्त्रवादी भयौ | धर्ममा निरपेक्ष भयौ | पिछडिएको भनिएको समुदायबाट प्रतिनिधित्व गर्ने डा. रामवरण यादव पहिलो पटक नेपालको राष्ट्रपति भए | नेताले अव हामीले देश वनाउछौं भने देश बनाउन दह्रो कानुन चाहिन्छ, हामीलाई भोट दिनुस भने दियौं | सुन्नुभो हजुरबुवा! हामीले सदा विवेकपूर्वक भोट दिएका छौं | सवैलाई कम्तिमा एक-एक  पटक मौका दिएकै हौँ | पहिलाको संबिधान सभाले हामीलाई संबिधान दिन सकेन अर्को चुनाव भयो यो त अन्तिम मौका हो भन्थे खै अव हामीलाई दिएको समय पनि सकिन थाल्यो | सुन्थे हजुरहरु  भाई भाई खत्रीखेत-मगरखेतको साद सिमानामा निक्कै  झगडा गर्नुहुन्थ्यो रे ! ठयाक्कै त्यस्तै छ नेताहरुको हालत | त्यसैले धेरै आध्यात्मिक भन्दा पनि सत्यमा आधारित भएर हजुरहरुका सन्तान हाम्रा नेताहरुलाई नेपालको मूल कानुन बनाउने प्रेरणाको सहितको पहल प्राथमिकतामा गर्न यो निवेदन पेशा गरेको छु |

      हजुरबुवा! नाती देश भयङ्कर व्यथितिमा  रहेछ तिमीहरु कसरी चलेका छौ त? पक्कै प्रश्न गर्नुहुनेछ | मैले जान्दा राजनीतिक परिवर्तन भयो अव तिमीहरुलाई राम्रो हुन्छ भन्थे सवैले, खै मैले स्कूल सक्दा सम्म त्यस्तो केहि अनुभव गर्न पाइन् | क्याम्पसको पढाई शुरु गर्दा नगर्दै माओवादीको शशस्त्र युद्ध शुरु भयो | युद्ध कायम हुँदा हुँदै विश्वविधालयको पढाई पनि जेनतेन सकियो | अव घरमा पैसा माग्न अप्ठयारो लाग्यो | देशमा पेशा व्यवसाय गर्ने अवशर नै मिलेन विश्वविधालयको पढाई सकेको म मन नलागी नलागी विदेशिए | यता देशमा गणतन्त्र आयो  | यो व्यवस्था संस्थागत भएमा पक्कै केहि हुन्छ भन्दा भन्दै १० वर्ष उतै बसेँ खोई केहि भएन | हजुरबुवा! म मात्र होइन म जस्ता ३५ लाख हजुरका छोरा नाति त्यस्तै व्यथाले विदेशिएका छन् तिनैको पसिनाले अहिले म मात्र होइन हाम्रो देशै चलेको छ | तिमी एक जनालाई  एसएलसी गराउदा राज्यको मात्र ७ लाख ५० हज्जार खर्च हुन्छ, पछि ठूलो भएपछि देशको सेवा गर्नु पर्छ भन्थे हाम्लाई हेड सरले त्यो बेला | गुरुको अर्ति उपदेश अहिले गलपासो सावित भएको छ | सेवा कसरी गरूँ? विदेशको कष्ट साध्य जीवन मैले अनुभव गर्न पाएँ | मलाई अब मेरा सन्तानलाई विदेश पठाउनु छैन त्यसैले छोरीको चेतनामा आएको अप्रत्यासित परिवर्तनले मलाई झस्कायो, एकै पटक लामो समय पछि हजुरलाई पनि सम्झें अब हाम्रा नेतालाई सम्झाउने  जिम्मेवारी हजुरहरुको हुनेछ हामी आजित भैसकेका छौं |

      हजुरबुवा! घर गाउँको खवर पनि हजुरलाई पक्कै सुन्न मन लागेको होला | व्यक्तिगत र पारिवारिक स्थिति सवैको सुखी र खुशी छ | मात्रै बिग्रेको राज्य हो | मलाई त विदेशको अनुभव पनि भएकाले राज्य दह्रो हुनुपर्छ भन्ने कुरामा शंकै छैन त्यसैले राजनीतिक क्रियाकलापमा अलि चासो हुन्छ | गाउँ त्यस्तै छ अहिले त विजुवाका कुन्सांग काकाका  छोराहरू र पल्लाघरे हर्के काकाको छोराहरू  मात्र लाहुर जादैनन् अधिकांश गाउँका तन्नेरी महिला पुरुष विदेश जान्छन् पैसा कमाउछन् पठाउछन् त्यसैले सुखी हुन्छन् | उहिले जस्तो दुख छैन अहिले गाउँमै भए पनि | हजुरले घोडा सावार हुने गोडेटोमा अहिले गाडी गुड्छन् | सवैले दुख गरेर भन्दा लाहुरको पैसाले किनेर खान्छन् | मिश्रित समुदायका सवैको उस्तै पारस्परिक मेल छ जस्तो हजुरको पालामा थियो | तर दुखको कुरा अहिले त नेताहरुले त्यो पारस्परिक मेललाई पनि भत्काउछन् कि भन्ने डर मात्र छ | ए साच्चै यो कुरालाई पनि ख्याल राख्नु पर्ने झन्झट छ हजुरलाई | यो पनि एउटा मेरो मुख्य निवेदन हुनेछ जसलाई नगर्न/ नगराउनु हुनु अनुरोध गर्नुहुनेछ |

     परम पुज्य हजुरबुवा! सवै साझा र निराशाका  कुरा गरिस् छोरीको कुरा ल्याईस् छोडिस् किनिदिईस् त ‘शेन्टा क्लाउजको सेट’ भन्नु होला | हजुरले निर्माण गरेको परिवार प्रति हाम्रो  केहि गुनासो छैन | अहिले सम्म त्यो सानो छोरीको मागमा सम्झौता गर्नु पर्ने बाध्यता कमसेकम हामीलाई छैन | तर कुरा अलिक फरक छ हजुरबुवा मलाई जस्तै छोरीलाई घरमा पैसा माग्न अप्ठयारो लाग्ने दिन यदि आयो भने ? व्यक्ति सम्पन्न भएर नहुने रहेछ, पद्धति सम्पन्न भयो भने बिपन्न पनि सम्पन्न हुन्छ |  मेरो पुस्तालाई राजनीतिक व्यथितिले प्रभावित बनायो तिनका पुस्ताको लागि दशकौ देखि चिर निद्रामा भएको हजुरलाई पुकारें | यधपी ढुक्क हुनुहोस हामी विकल्पहरुको खोजि गरिरहने छौ | हजुरपा ! अहिले संसार हजुरको कालुंगखोला जत्रै साँगुरो भएको छ | तुलसीको मठमा बेद, चण्डी र कौमुदीका श्लोकको स्त्रोत मन्त्रोच्चारण सहित शुरु हुने हजुरहरुको दैनिक अहिले बिज्ञानले नाम दिएको माउस , किप्याड र कम्प्युटरसंगै शुरु हुन्छ | विश्वको भूगोल साझा भएको छ, चाडपर्व साझा भएको छ, घटनाक्रम साझा भएको छ, थिति व्यथिति सवै साझा भएको छ | विज्ञानको यो रुप त्यो बेला हजुरलाई के नै कल्पना होस् र ? कसलाई के थाहा भविश्यको गर्भभित्र अझै कति चामत्कारिक विज्ञानको विरासत लुकेको होला? यी र यस्तै कुरालाई खोज्ने हाम्रो अभिभावकीय भूमिकाको राज्य दिग्दभ्रमित हुँदा हामी चिन्तामा फसेका छौ | यसको मुक्तिको लागि अनेक विकल्प मध्यको एक विकल्प देउ-पितृको नाममा हजुरबुवा मार्फत यो निवेदन पेश गरेको छु
| हजुरले जे देख्नु हुन्छ  !!!

उही नाती
धन्यबाद!
१० पौष २०७१
हाल:-पानीपोखरी-काठमाडौँ

Mr R. Paudel is a banker and a freelancer.
He writes on current affairs related to finance, economics,  remittance,  politics and literature. You can meet him at rajuatripta@gmail.com