खै के भनेर सुरु गरूँ हजुर? हजुरहरु प्रति म अति नतमस्तक छु । हजुरहरु त मेरो लागि खुल्ला किताब नै हो । सिक्ने मैले हजुरहरुबाट नै हो । तर, हजुरहरुसंगै यसो भनिरहदा, सोच्नुहोला कि फेरी यो त अझ सिकारु नै रहेछ !
हो, म मर्ने बेलासम्म सिकी नै रहनेछु, त्यै भएर त मेरो पेशालाई प्राक्टिस गर्ने भनिन्छ, न की काम गरेको ।
नेपालमा दुइ मान्छे को कमि छैन, एक ‘नेता’ , दोस्रो ‘डाक्टर’।
सांच्चै हो, दुइ चार जना मान्छे जम्मा पारेर गफ हाक्ने अनि गाउँदेखि केन्द्रसम्म चिनजान कै भरमा हुने नहुने कुराको खेति गर्ने कति छन् कति ।
अनि आफुलाई 'केहि' हुदा के गर्ने भन्ने अत्तोपत्तो नपाउने तर अरु कसैलाई सामान्य केहि हुदा नि यो गर र नगर, यो खाउ, त्यो खाउ भनेर फिरिको सल्लाह दिने जति नि छन् ।
ए, म त हजुरहरु लाई कुराएर आफ्नै कुरामा पो मस्तमगन भएछु ।
हजुरलाई जाँच्न अनि आफ्नो बुताले भ्याएसम्म सहयोग गर्न पाउँदा मलाई औधि आनन्द आउछ । म ओपिडीको कुर्सीमा ढलक्क परेर बसिरहेको हुन्छु, अझ भनौं हजुरलाई कुरेर, हजुर आउनुहुन्छ, दश औला जोडेर नमस्कार गर्दै । मलाई त्यति जागर हुदैन, नमस्ते भन्छु, हजुर तिर पनि नफर्की, अनि इशारा गर्छु छेउ मा भएको टुलमा बस्न । हजुर बिस्तारै बस्नुहुन्छ । मेरो प्रश्नवाचक हेराइले हजुर अलिकति डर अनि अझ बढी आश्चर्यसूचक दृष्टि फ्याक्नुहुन्छ ।
म के समस्या छ भनेर सोध्छु, हजुर, ‘आफै पत्ता लगाउनुस न, हजुर नै त हो डाक्टर’ भनिदिनुहुन्छ । मलाइ हास्न कर लाग्छ, फेरी हजुर उपर हासेको आरोप नलागोस भनेर बल्ल तल्ल हासोलाई घाटिमै रोक्दिन्छु ।
अनि केहीबेर अं र अंह को सवालजवाफ चल्छ ।
कहिलेकाहीं त जांच्न नदिईकन हजुर ड्यान्गै सोध्दिनुहुन्छ, "मेरो छातीमा हल्का हल्का दुख्छ, के भएको होला?" म जवाफहीन हुन्छु ।
अनि अब हजुरलाई नि घरै फर्किने हतार छ, मलाइ त झन् हतार, तर के को हतार हो, हो? मोबाइलमा जतिबेर घोत्लिन पनि समय बितेको केहि जस्तो लाग्दैन तर सकेसम्म छिटो हजुरलाई यो कोठाबाट बाहिर पठाउन पाए हुन्थ्यो जस्तै लाग्छ ।
अनि केहि ल्याब रिपोर्ट अनि अरु जाचहरुको लागि पठाइदिन्छु।
हजुर हस, हस को आज्ञापालनसंगै ढोकाबाहिर पदार्पण गर्नुहुन्छ । म फेरि व्यस्त हुन खोज्छु।
बाहिर अलिक भिडभाड भएको दिनमा धेरै हजुरहरु भिड संगै हुलुलु भित्र छिर्नुहुन्छ, हजुरहरु कसैलाई धैर्यता हुदैन । अर्को हजुर को गोपनियतासंग हजुर लाई केहि चासो हुदैन । हजुर टुलमा बसेको बेला मात्र मेरो कुरा अरुले नसुन्दियोस जस्तो लाग्छ, तर भिडमा उभिएको बेला हजुरलाई बाल मतलब ।
तर मेरो पारो चढ्छ अनि, एकजना हजुर बाहेक अरु हजुरहरु भित्र उभिएसम्म टुलमा बस्ने हजुरसंग नबोल्ने अड्डी कस्छु । टुलमा बस्ने हजुर नि अरु हजुर बाहिर जाओ भनेर चिच्याउनु हुन्छ । अनि उभिएका हजुरहरु क्रोध मुद्रामा लुरुलुरु बाहिर जानुहुन्छ ।
अनि टुलमा विराजमान हजुरसंग बार्तालाप सुरु हुन्छ ।
आवश्यक नै छ अनि फुर्सद छ भने बेडमा ओल्टाई पल्टाई हेर्छु, फुर्सद अनि जागर छैन भने, सिधै पर्चामा दबाई लेख्दिन्छु । हजुरलाई नि त्यतिविधि बेर गरेर जाँचेको, चाहिने नचाहिने जस्ता लाग्ने प्रश्न सोधेको मन पर्दैन, मैले बुझ्छु नि हजुर!
हजुरहरु आफुलाई जाँच गरिसकेर भ्याए पछी के भएको हो, किन यस्तो भयो भनेर सोध्नुहुन्न, सिधै के के बार्न पर्छ भन्नुहुन्छ।
म भन्छु, के खान पर्छ भनेर सोध्नुस न हजुर, बार्ने पर्ने भए मा भनिहाल्छु नि ।
हजुर ल्याबको रिपोर्ट के आयो भनेर सोध्ने कष्ट गरिहाल्नुभयो भने नि, अब बताउने उपयुक्त जुक्ति फुरिहाल्दैन मलाई । ज्वरो आएको रहेछ भने, हजुरलाई टाइफ़ाइड भाको हो कि होइन मात्र ढुक्क हुनमात्र मन हुन्छ, मलाई टाइफ़ाइड हैन भन्ने पहिल्लै थाहा हुन्छ, सो को त ल्याब जाच पठाएकै हुन्न ।
अब कसरी अर्थ्याउँ, कहिले कांही त मैले यति धेरै अंग्रेजी जाने कि नेपालीमा बोल्नै पो आउन्न कि जस्तो लाग्छ ।
अब ग्याष्टीक भन्ने रोग मैले हजुरलाई जांच्दा जांच्दा बोल्न सिक्या हुम, पढ़ाउदा त ग्यासट्राइटिस पढिन्थ्यो ।
अब नशाको रोग भनेर दिमागको रोग भन्या हो कि स्नायू नशाको रोग भन्या हो कि, रगत बग्ने नशाको भन्या हो कि , मनोरोग भन्या हो कि नशा लगाउन पर्ने जस्तो दुर्व्यशनीलाई भन्या हो, मै कन्फ्युज हुन्छु । हजुरलाई नशाको रोग भनेर बताइदिने डाक्टरसाबलाई अब देखि क्लियर पार्दिन भन्नुस है।
अनि बाथ भनेर बताइदिने जोर्निको रोग खासमा के हो? खडजुरो भन्या, गानो गोलाहुने भन्या के के हुन्, मैले बुझ्न सक्या छैन ।
कुनै कुनै रोग नै यस्ता छन् कि नेपालि शब्दकोशले ती रोग अनि अवस्थालाई चिन्दैन तर नेपाली मान्छेले जुगौंजुग देखि बोकिरहेका छन् । अब म आफै शब्दकोशको हजुरबाउ जस्तो शब्द भट्याईदिन्छु । अरु उपाय सुझे पो?
अनि हजुर खासमा बुझ्नुहुन्न मैले के भने भनेर, अनि मैले थप बुझाउन पो किन परो र ? हजुर बुझेबुझे जसरि टाउको जो हल्लाउनु हुन्छ ।
अनि हजुर औषधी पसलमा जानुहुन्छ, दबाइको पोको लिनुहुन्छ, अनि घरतिरै कुद्नुहुन्छ ।
मन्त्रीज्यूले त भाषण ठोक्नु भएकै छ, ७० थरि दबाई नि:शूल्क छ भनेर, तर हाम्रा हजुरहरुको हातमा मुस्किलले बीस थरि दबाई नि पर्दैन ।
कारण? हजुरहरुलाई लाग्छ होला हाम्ले दबाई मगाएनम, खालि घाम तापेर बसेम अनि दबाई छैन भनेर बाहिरका खुद्रा पसले कहा पठाइदिएम् ।
तर कुरो अर्कै छ, हाम्रा माग फारमहरु जिल्ला, क्षेत्र, केन्द्रमा त्यसै थन्किन्छन, या मागे जति दबाई कहिल्लै पठाइन्नन् । जस्तो हप्ता भरलाई बाड्न २,५०० सिटामोल चाहिनेमा हामीलाई १,००० गोलि नि आउन्न । अनि कैले काही नचाहिने औषधि नमाग्दा’नी गाडी भरेर पठाइन्छन् भने मागिरहँदा नि किन सिटामोल, जीवनजल समेत पठाइन्न त्यो हजुरहरुले बुझ्ने कुरै भएन, हामी त रनभुल्लमा छौं |
मन्त्रीज्युले दबाइ नभएमा सिधै मलाई फोन गर्नु भन्नुहुन्छ, तर कहिल्लै उठाउनुहुन्न या त बोल्नुहुन्न । सिधै मन्त्रालय मै भेटेर विज्ञप्ति दिएर त कति माग सिधै गुमनाम हुन्छन, जाबो फोनको भर के हैन त हजुर?
अब हजुर पाएको दबाई लिएर, अनि अरु केहि दबाई किन्न पर्यो भनेर मन मन हल्का हल्का मुर्मुरिदै जानुहुन्छ, म यहाँ आउने सबै यस्तै त हो भन्दै बस्दिन्छु अर्को हजुर आउने आशामा ।
आजकाल त हजुर, खै किन हो कुन्नि, दुख लाग्ने कुनै कारण चाहिदैन, त्यो आखै अगाडि टुप्लुकिए जस्तो लाउछ !
झाडापखाला, हैजा, मलेरिया, टिबि अनि सर्ने रोगबाट मुक्त हुन नपाउदै हामी सुगर, प्रेसर, हृदयघात, दम, मानसिक रोगजस्ता गम्भीर अनि ज्यानैलिने खालका नसर्ने रोगबाट आक्रान्त भैसक्न लाग्यौ!
यसो तुलना गर्छु, हजुरहरु नआएको बेलामा गम्दै, हाम्रा हजुरहरुमद्धे हाराहारी आधाउधीभन्दा बढी हजुरहरुलाई नसर्ने खालका समस्या छन! तर राज्यको ध्यान, छोड्दिनुस के भन्नू राज्यलाई मात्र, हाम्रो नै ध्यान त्यता तिर पूरा पुग्न सक्या छैन! हाम्रो रहनसहन जीवनशैली के शहर के गाउँ , जताततै यस्तो भैसकेको छ कि, हामी बांच्न कम, खान ज्यादा जन्मेका हौ कि जस्तो!
जे होस् हजुरहरु बुझेर हो या नबुझेर, साच्चै बिरामी हुदा सरसल्लाह लिन आउनुहुन्छ, बाटो पर्या बेला कैले कसो फ्याट्ट फुट्ट आइरहनु हुन्छ । नभए पछि बिरामी हुँदा खाउला यसो सिटामोल, भिटामिन, जिबनजल ल्यार राखम न त भनेर भए नि आउनुहुन्छ । नत्र हाटबजार आको दिन यसो जाम न त भनेर आउनुहुन्छ ।
तर फर्केर आउदा कैले नि पुरानो कागज लिएर आउनु हुन्न किन ? मलाई थाहा छ हजुर, किनकि त्यसको पैसो नै पर्दैन ।
मैले दशौँ वर्ष मेहेनत गरेर पढेको आधारमा दुइ चार अक्षर कोरेको कागजको महत्व र हजुरले चटपटे मुन्गफली बेरेर खाएको कागजको अर्थ एकै भैदिदा मलाई सारै चित्त दुख्छ । तथापी केहि बोल्ने आंट आउदैन । न त हाम्रा सबै स्वास्थ्यकर्मी मित्रहरुले हरेक बिरामीको कागजमा लेखेका शब्दलाई जीवन्त मान्छन, त्यसमा नि चित्त दुखाइ छ मेरो ।
सुत्केरीसंग सम्बन्धित कार्यक्रममा मेसो मिलाएर गर्भवती जाँचियो भने पैसो बाडिने भएको हुनाले हजुरहरुलाई अफ्ठ्यारो परेको बेला केहि भए नि राहत हुन्छ, जुन स्वागत योग्य छ ।
त्यहि पनि कतिपय हजुरहरुलाई थाहै छैन, बच्चा पेटमा बसिसकेपछि चार चोटी कम्तिमा जाच्नु पर्छ भन्ने कुरा ।
आइरन, क्याल्सियम खाने अनि टीटी सुइ लगाउने, भिडियो एक्सरे गर्ने भन्ने नि थाहा हुन्न या मेसो मिल्दैन ।
अब सुत्केरी संस्थामा गराउने कुरो त परको भयो । त्यसमाथि हाम्रा संस्थाहरु धेरै जसो बस्तीभन्दा पर कि त उछिट्टीएको ठाउ मा छन् या यातायातको साधनको अभाव छ । एकदिन भरी बिताएर जांच गरेर फर्किनु पर्छ । त्यै पनि एक्लै हिड्न सकिने अबस्था हुदैन ।
जे जस्तो अवस्था भए नि, दुर दराजका ती वस्तीहरुमा भए केहि दबाइका गोलि सहित, नभए मिठो बोलि सहित हाम्रा साथिहरु पुगेका छन् र आफ्नै जस्तो गरि बसेका छन्, केहि सेवा तथा केहि मेवाको आशामा ।
धेरै हजुरहरुले आफ्नो आश्रय दिनुभएको छ, मिठो मसिनो बाड्नुभएको छ । बर्षभरि खान नपुगे नि लगनशील भएर नंग्रा खियाउनु भएको छ, त्यस्तै थोरै आफ्नो खानपान र स्वास्थ्यमा नि केहि संबेदनशील भैदिए, बर्षको दुई चोटी केहि समस्या नभए नि जांच्न-जांचिन आए यसो भेटघाट चिनजान नि हुने, सानो तिनो सरसल्लाह नि हुने थियो। अनि अर्को कुरा हाम्लाई काम गर्न नि थप झकझकाहट तथा उर्जा मिल्ने थ्यो।
यतिका चाहिने नचाहिने गन्थन मन्थन गरे, मनमा कुरा त हजुरका नि छन्, मेरा नि अझ कति बाकि छन् कति !
यसो समय कटाउने मेलो गर्या नि हजुर । रिसानी भए माफ पाम । जे जसो भए नि हजुर मेरो लागि पुस्तक जस्तै हुनुहुन्छ, पुज्य अनि ज्ञानको स्रोत ।