Monday, March 27, 2017

एब्सर्डिटी

तिमी तिम्रो सोचाइ हौ, र स्वतन्त्रता,
मन जे हुन्छ, गर्न पाऊ, नहोस कहि बाध्यता!
तर
उत्तर खोज्छु म कहिं कहिं
प्रश्न बिनाको,
एब्सर्डिटी भन्थ्यौ तिमी,
कारण बहानाको!

मेरो लागि हामी- सधैका थियौ र छौ,
सायद मन-मन मात्र होइन,
हर मोलेक्युल नै  मिल्छ जस्तो लाग्ने,...

(धत् बिर्स्या रहेछु, भुलक्कड म,
सन्सारै सब बनेको छ,
निश्चित एटम र उस्तै मोलेक्युलले!)

...नजानेरै, मनले त्यो सामिप्यता माग्ने!
नजिक यति कि
कति धेरै कुरा साटिए, मन छुटेन;
दुख जोडिए कति, ख्याल जतन छुटेन!
समय बगिरह्यो, पर्खेन यो, फर्केन यो, झर्केन यो कहिल्यै,
तर
उत्तर खोज्छु म कहिं कहिं
प्रश्न बिनाको,
एब्सर्डिटि भन्थ्यो तिमी
कारण बहानाको!

मैले जे भन्छु, गर्छु, मनले गर्छु/गरेँ,
सोचिनं, दिमागले के गरें?
सायद तिम्रो स्वाद बिपरित पो पर्यो कि?
फेरिइएं कि म त्यो स्वाद,
या, स्वाद केसिका नै पो झर्यो कि?
सम्बन्ध- सोच्थें अनुपम ,
"केही हो यो" आफू "कोहि" नभएपनि!
बिर्सियौ होला अहिले त,
प्रश्न सोध्थ्यौ, "को हौ तिमी?" भनि!
सम्पत्ती जे ठान्छु,
भ्रम मात्र पो रहेछ त,
आऊ, नआऊ, जाऊ, हराऊ;
तिम्रो खुसी, मन चरीको स्वतन्त्रता,
जे "सोच्छौ", गर्न पाऊ, नहोस कहि बाध्यता!
तर
उत्तर खोज्छु म कहिं कहिं
प्रश्न बिनाको,
एब्सर्डिटी भन्थ्यौ तिमी,
कारण बहानाको!

अर्घाखाँची।