Sunday, April 9, 2017

क्यानभास

नदी किनार,
साँझपखको शितल पवन,
बगिरहेको पानी!
समय यार,
अनवरत जीवन,
एक पैदल यात्री!

फैलिएको दुबोमा आफ्ना कदम पट्याउछ;
र निर्निमेष पानी, सगर अनि आफुलाई  नियाल्छ!

पारी क्षितिजमा डाडामाथी एक मन्दिर,
बलिरहेछ दियो आस्थाको,
बजिरहेछ घन्टी हृदयको,
आकाशमा चम्किरहेछन तारा इच्छाले,
पार्दै प्रतिच्छाया पानीमा!
क्षितिज टल्कन्छ,
दियोको प्रतिबिम्ब पनि
आँखैमा
अटाइ नअटाइ !

सल्काउछ चुरोट,
छिनभरको आभाले सलाईको,
प्रतिविम्बित त्यो पनि,
दियोको वारिपारि,
धुंवा जान्छ सिधै मथिङ्गलमा,
याद उसैको घरिघरि!

मुद्रा गम्भीर,
अवस्था सामान्य,
नदि सुसेलिइनै रहन्छ,
गति समान नै छ,
खाली मनको गति,
हृदयको रक्तप्रवाह,
क्षणभरको निकोटिनको लागि,
उद्वेलित हुन्छ!
एक घुटुक सासले ,
फेरि त्यो फिर्ता पठाउनु पर्ने,
प्रतिच्छाया माथिबाट,
मधुरिन्छ चित्र,
निमेषभरको लागि,
फेरि सामान्य!
अनि समान गति !!

प्रतिच्छाया स्थीर, नदि गतिमय,
किनार जहि को त्यही!
व्यक्ती जहि को त्यही,
मन कहाँ-कहाँ
धुंवा त निभिसकेछ!

आँखैको प्रतिच्छाया,
अनि सगर र क्षितिजका छाया
जहिको त्यही!
आखिर यै हो त क्यानभास जिन्दगिको?

आखीर यै हो त क्यानभास जिन्दगिको??