Saturday, August 5, 2017

एउटा बिर्सिनै नसकिने कथा #IamwithDrGKC

दिनभरी ओपिडी हेरेर थाकेको ज्यान लिएर भर्खर के कोठामा पुगेको थिएं, ड्युटीमा भएकी सिस्टरले कल गर्नुभो! एकछिन माथि आइदिनुस् न भनेर! प्रतिप्रश्न नै नगरी म तुरुन्तै फर्केर गएं! र , देखे एकजना किशोरी गर्भवती र उनकी सासु हुनुपर्छ, अधबैंसे महिला संगै उभिरहेका। मेरो डाक्टरी आखाले 'नोटिस' गरिहाल्यो, उनको अनुहार अलिकति फुलेको या भनौं चन्द्रमा जस्तो! अनि त्यसमाथि गोरी, उनि!

के भयो, किन आउनुभएको भनेर बेलिबिस्तारमा नै सोधे।

उनि थिइन् रे, १७ वर्षकी चंचल केटि। लाउला खाउला को उमेर! अनि मिठो मसिनो नभएनी, बुवा आमाले खुवाएको खुसीले खाने अनि जिन्दगीका सबै रहर एकातिर अनि आफ्नो अबस्था अनुसारका सम्झौता हरु अर्को तिर पारेर, एकसरो आंग ढाक्नको लागि ल्याइदिएका जडौरिहरु खुसीसाथ लगाएर मुस्कानका गहनाहरु मा सिङ्गारिने, एक्काइसौ शताब्दीकी एक गाउले विवाहित, किशोरी!
भनिन्, अनि एकदिन जीवनमा ऊ पछी लाग्यो रे! छाँया बनेर! तिम्रो ज्यान रहेसम्म तिम्रो छाँया जसरि नै तिम्रो वरीपरि हुन्छु भनेर प्रण गर्छ। उनको नि मनै त हो विस्वास लाग्न थाल्दछ। अझ भनु भावना उर्लेरै आउछ। बाबा आमाको नि माया नभएको त कहा हो र? बरु बाबा आमा बाट अलिक पर पुगेपनि, सन्चो बिसंचो मात्रै बुझेरै भएनी दुख मर्कामा मात्रै चाहिने भइएपनि जीवन चल्छ जस्तो लाग्छ, उनलाई, तर उसको निकटता? अह..... छोड्न सक्दिनन!
अनि, केहि दिन, महिना, वर्ष पछिको आनाकानी पछी, लगातारको उसको मायालाई उनले इज्जत दिन्छिन, उसैकी बनेर। माया गर्ने माइती लाई चटक्कै छाडेर उनि एकाबिहानैमा, उसको हात समात्त्दै उसको घर भित्रिन जान्छिंन!
बिहे हुन्छ, घरजम चल्छ! सुरुसुरुमा त माइतीको उति वास्ता नपाए पनि पछी बिस्तारै आवत जावत हुन  थाल्दछ! बिहे भएको करिब ७-८ महिना पछी उनको लोग्ने विदेश जाने कुरा चल्छ, उनले सबै परिस्थिति लाई स्वीकारेर, मायालाई एकैछिन मनको सन्दुकमा भोटेताल्चा मारेर नै भए पनि उसलाई विदेश जाने स्वीकृति दिन्छिन!
ऊ आकाशको हवाईजहाजमा उडेर जान्छ, यता उनको मन त्यसपछि त सधै उडी नै रहन्छ। ऊ गएको केहि दिन पछी उनले  एउटा खुसीकै कुरा पत्तो पाउछिन। उसको चिनो उनको पेटमा हुर्किदै रहेछ। उनको खुसि को सीमा रहदैन! मोबाइल फोनमा उनको मायालाई खबर पठाई हाल्छिन! उता ऊ पनि खुसि हुन्छा! फोनमा नै खुसि साटछन उनीहरु!
यता, उनको पेटमा हुर्किदै गरेको उसको माया दिन प्रतिदिन ठुलो हुदै जान्छ। तर उनलाई थाहा हुदैन कि कुनै बेलामा कुनै जटिलता देखिन सक्छ, त्यसैले न अस्पताल जान्छिन आफै, न त कसैले उनलाई सिकाउंछ ति कुरा हरु! तर अत्ति गारो नै भए पछी, न रैया को जान्ने ले केहि भन्न सक्छ, न उनका सासु ससुराले! पछी कसैले भनिदिन्छ, स्वास्थ्य केन्द्रमा गएर देखाउनु। अनि त्यसको केहि दिन पछिको एकदिन बिहानै खाना खाइवरी आफ्नी सासु संग उनिहरु उकालो लाग्छन, र बिस्तारै बिस्तारै बल्ल बल्ल, साँझको समयसम्म हामीकहाँ आइ पुग्दछिन!

कहानी यति सुनिसकेपछि, उनकै अनुमतिमा जाँच्दछु मैले! उनको रक्तअल्पता भएको भेटाउछु अनि हात खुट्टा पनि  सुन्निएको। धन्न रक्तचाप सामान्य रहेछ, प्रि इक्लाम्प्सिया हुनसक्ने खतरा बाट त बचियो! रगत जाँच्न पठाउछु, हेमोग्लोबिन ७.४ ग्राम % मात्रा आउछ। अनि बच्चाको अवस्थाको बारेमा भिडियो एक्सरेमा हेर्छु, धन्न सामान्य नै पाउंछु!
सिस्टर, अनि हामि दुइ जना डाक्टर र उनकी सासु र उनि लाई बिस्तारै उनको अबस्था बारे बुझ्ने गरि सम्झाउछौ! प्रास्वाके मा उपलब्ध हुनसक्ने सेवा सुबिधा बारे जानकारी गराउदै, उनको रक्तअल्पता त असामान्य नै भएकोले स्त्री रोग बिशेषग्यले नै अंचल अस्पताल या त्यस्तै ठुलो अस्पतालमा उनको तत्कालै उपचार गर्नुपर्ने र डेलिभरी पनि उतै गराउने सल्लाह दिन्छौ!
उनीहरु सबै बुझे जस्तो गर्छन र घरमा गएर सल्लाह गरि भोलिपल्ट अंचल अस्पताल जान राजि हुन्छन। अरु आवश्यक सल्लाह र औषधि हरु दिएर हामि नि उनीहरुलाई बिदा गर्छौ!
*******
करिब २० दिन पछी को कुरा। शनिबारको बिदाको दिन परेकोले मा प्रास्वाके मा आवश्यक व्यवस्था मिलाएर, घरमा बुवा आमालाई भेट्न गएको हुन्छु।
प्रास्वाकेबाट अहेव ले फोन गर्छन! उनले त घरमै छोरी पाइन् रे। अनि आज सात दिन पुग्यो रे। बच्चीको अवस्था सामान्य नै छ रे, तर उनि झन् झन् सुन्निने र उठ्न पनि नसक्ने भएकीले डोकोमा बोकेर यहासम्म ल्याइपुर्याएका छन् रे! हाम्रोमा आएर गए पछी उनि अस्पताल जानु त परको कुरा हामीले दिएको औषधि नि खाएकी थिइनन् रे। उनले एकै सासमा मा कुरा सक्छन। र भन्छन, "हामीले अब केहि गर्न सक्छौ कि, ड़ाक्साब"?
मलाई भाउन्न भएर आउछ, हरे भगवान! अनि म सम्झिन्छु, गगन थापा मन्त्रि हुदा भन्नु भएको कुरा, पैसा नभएका कारणले कोहि पनि मर्नु पर्दैन भनेको कुरा! अनि मेरा नौ नाडी गल्न थाल्दछन्!
सायद, घरमै डेलिभरी भएपछी उनको अत्यधिक रक्तस्राब भयो होला कि? अनि रक्त अल्पता अझ बढेर हार्ट फेलियर नै पो भयो कि? लौ, त्यहाँ जाँच हुनसक्ने यो यो गर्नु, अनि यो यो  औषधि दिएर तुरुन्त रिफर गर्नु सल्लाह हुन्छ मेरो! केहि बेर पछी उनैले बताउछन्, हेमोग्लोबिन त ३.५ ग्राम % मात्र आएछ, मैले गरेको अनुमान सहि साबित भयो!
उनीहरुको आर्थिक अवस्था अत्यन्त कम्जोर भएको महसुस गरेरै हामीले गर्न सक्ने सहयोग, र संस्थाको तर्फ बाट हुन सक्ने सहयोग को बारेमा बताउन भने! वहां हुनुभएको स्टाफहरुले मिलेर सबै बताउनु भयो। अनि जिल्ला स्वास्थ्य प्रमुख संग पनि जिल्ला अस्पतालमा लगेर गर्न सकिने सम्भाव्य सहयोग र उपचारको लागि कुरा गरें! तर अझै पनि अस्पताल लाने कुरामा उनीहरु सहमत भएनन् रे। पानी परिराखेको ले बाटोमा झर्ने ढिस्को पहिरो हरुको जोखिम त छंदै थियो, त्यसमाथि परिवार को आर्थिक अवस्था कमजोर , त्यसमाथि उनीहरुको उसको स्वास्थ्य अवस्था  प्रति बुझेर हो वा नबुझेर देखाएको उदासिनता। यो सुन्दा पनि मुटु चिरिएरै आयो।

हामीले अत्तिनै  कर गरेपछि, या लोकलाजले, उनलाई अर्को दिन अस्पताल पुर्याएछन!
यति खबर पाएर, हामि केहि भएनी राहतको सास फेर्यौ!
सायद अस्पतालमा पुगेपछि त, उनलाई रगत दिइयो होला, रक्त अल्पताको सम्भाव्य कारण पत्ता लाग्यो होला! अनि उपचार पनि भैरहेको होला भने सोचेर, ढिलाई नै भएको भए पनि केहि आशा पलायो!
*******
१० दिन पछी! बिहानै उठेर कार्यालय परिसरमै टहलिरहेको थिए, छेवै को घरको दिदि आउनु भयो! अनि देख्ने बित्तिकै भन्नु भयो, उनको त हिजो मृत्यु भयो रे! म छांगाबाट खसे जस्तो भए! म मुनिको जमिन भास्सिए जस्तो लाग्यो! चक्कर आउला जस्तो जस्तो भयो। किन, कसरि, कहां भनेर सोध्न नि सकिन। खालि मधुरो सुनिरहेथें, दिदीले भन्दै हुनुहुन्थ्यो, उता अस्पताल लागेको तीन दिन सम्म रगत दिए पछी केहि तन्ग्रीएकि थिइन् रे, अलि मुख उज्यालिएको थियो रे। तर बिरामीसंग गएकाहरु संग खाने बस्ने नै पैसा सक्किएपछी, उनीहरुले त्यहा राख्न मानेनछन र घर मै ल्याएछन। अनि घर लाएको दुइ दिन पछी फेरी स्वास प्रस्वास बढ्ने, सुन्निएको बढ्ने, छालामा निला दाग हरु देखिने भएछ। तर फेरी अस्पताल लाने त परको कुरा, उनि हरु धामीलाई हेराउन बोलाएछन! धामीले नि चमत्कार देखाउन त के सकुँन? नभन्दै उनको देहान्त भएको खबर मात्र सुन्यो हामीले! 

भन्छन्, मज्जा जिउनुमा हुन्छ, किनकि जीवन सुन्दर छ। सबैलाई  सुन्दरताको नजिक बनिरहन मन लाग्छ, कुरुपता अनि कमजोरी बाट टाढै भाग्ने मानवीय स्वभाव हो, तर कतिपय अवस्थामा नचाहेरै मान्छे सुन्दरताबाट टाढीन पर्दोरहेछ, सक्दा सक्दै पनि जीवनबाट भाग्नु पर्ने परिस्थितिको गुलाम हुदोरहेछ!

यहाँ देखिरहेछु, एक त्यस्तो भाग दौडको प्रतिविम्ब जुन दिन दिनै, एक्काइसौ भनाउदो शताब्दीको नयाँ नेपालको तीतो तर यथार्थ प्रतिबिम्ब सरि खडा भएर बारम्बार हाम्रो मनलाई डगमगाउन खोजिरहेछ। जीवन र मृत्यु को कुरा आउदाखेरी त, अलिकति पनि खर्चै नभएरै पनि होइन; समस्या का बारेमा केहि थाहा नै नभएर पनि होइन; सहयोग गर्ने कोहि नभएरै पनि होइन; तर किन उनले अनाहकमा ज्यान गुमाउन पर्यो?

सबै भन्दा ठुलो कुरा, मन नभएर!

सायद, उनको लोग्ने विदेशिएको हुन्थेन भने, उनको ज्यान बंच्थ्यो कि?
सायद, उनि पनि दुइ चार अक्षर पढेर, जानेर, घरका सदस्यहरुका अगाडी आफ्नो समस्याका बारे अलिकति बोल्न सक्ने भएकी भए, उनको ज्यान बंच्थ्यो कि?
सायद सरकारी संयत्रमा भएका र काम गर्नु पर्ने हामिहरुले आवश्यक परेका बेलामा उनीजस्ता लाइ हस्तक्षेप गरेरै पनि बेलैमा  उपचारमा पठाउन सकेको भए उनि बंच्थिन कि?
संगै काम गर्ने एकजना चिकित्सक साथि भन्नु हुन्छ, डेलिभरीकै बेला पनि या बेथा लागिसकेपछी पनि या तुरुन्तै हाम्रै संस्थामा आएको भए पनि, हामीले नै पनि, "केहि" गर्न सक्थ्यौ कि?

यस्ता अनगिन्ति प्रश्न हरु घुमिरहंछन, मनमा ! यो कुरा कुनै मिडिया मा आउने छैनन! उनको मृत्यु डेलिभरी पछी को १५ दिनमा भएको छ तर एक चिकित्सक हुनुका नाताले भन्दछु, उनको यो अस्वाभाविक मृत्यु गर्भावस्था कै तत्कालिन कारणले गर्दा भएको हो।

अनि ?
अन्य आर्थिक, सामाजिक कारण त छन् नै!
महिलाको हातमा केहि हुंदो हो त अस्पतालको मुख उनले देख्न पाउने थिइन, पहिले नै! सायद केहि सुनेजानेकी हुदी हुन् त, न त्यसरी छिटो बिहे गर्थिन, न गर्भवती नै!
रह्यो, सबैको हाउगुजी ! "पैसा नभएर" उनले ज्यान गुमाइन भन्ने कुरा! शत प्रतिशत  त म पनि यो कुरामा सहमत छैन! किनकि उनलाइ र सासूलाई केहि भएपनि हामीले व्यक्तिगत नै र हुनसक्ने सरकारी सहयोग को बारेमा भनेका थियौ! अलिकति याचना नै गरेको भए, गाउलेनै पुरै लाग्ने थिए! अनि सरकारी अंचल अस्पतालमा उपचार निशुल्क नै हुने थियो! मुख्य देखिने कारण यो भए पनि, यसको पर्दाभित्र अरु नै कारण छ जो सजिलै निमिट्यान्न हुन गारो छ!
सुदुर पश्चिमको बैतडी जिल्लामा ड़ा गुणराज अवस्थी सरले यहि वर्ष जिरो होम डेलिभरीको अभियान मा सफलता हासिल गरिरहदा, तुलनात्मक सुगम, शिक्षित र आर्थिक रुपले मजबुत मानिएको ५ न प्रदेशमा यस्तो घटना हामि सुनाइरहेछौ!
   ड़ा गोबिन्द केसी सरको अनसनका अहिले का माग हरु सतह मा जे देखिए पनि, सबै त्यसको अन्तर्य मा यी र यस्ताखालका घटना नदोहोरिउन् भन्ने नै हो!