"के बन्ने बाबू?"
सोध्थे, "नयाँ सर" ले कक्षामा उठाएर,
पालैपालो!
कोहि मन्त्री , कोहि पुलिस ,
कोहि पाइलट, कोहि खेलाडी,
कोहि भन्थे, इन्जिनियर!
अनि हात म तिर देखाउथे, थमन "नयाँ सर"!
मेरो पालो!
म जुरुक्क उठेर बोल्थें!
"डाक्टल बन्ने सल!"
सबैजना गलल्ल हाँस्थे!
त्यो अट्टहाँसमा, मेरो डाक्टरिको होइन,
मेरो "डाक्टली" को खिल्ली,
धुवाँ बनेको हुन्थ्यो!
मनमा अचाक्ली लाग्थ्यो कि,
म एकदिन "ल" लाई "र" नै भन्न सक्ने हुनेछु!
तर, कसरी?
अनि बाटो मोडियो!
पर्शुराम बिदेशियो!
धर्मे पोइल गई!
कुलबहादुर सरले "मीना, बटुल्ने दक्षिना" भन्ने मीना,
बुढाबुढी भएर मस्किदै, घर माइत गर्न थाली!
मिलन, पुलिस
शेर्पा, आर्मी भयो!
पढाइमात्र गर्ने त मै "लम्फू" भएं!
न "र" मेसिन पत्ता लगाउन नै सकें!
मेरो सपना, मेरो बिपना भयो!
कति दुख गरें, कतिचोटी भित्रै मरें!
कैले आशक्तिए, कैले बिरक्तिए!
किताब आफ्नो ठानें, समय आफ्नो जाने!
"डाक्टल" हुन्छु भन्थें, " डाक्टर" भएं!
"र" को खोजीमा जो हिडेको थिए!
सानोमा दिदीले एकादशीमा आज के खाने बाबू भनेर बारम्बार सोध्थी,
"तऊल" जवाफ हुन्थ्यो मेरो!
एकादेशमा अध्ययन गर्दै गर्दा "तरुल", आलु कति खाए कति!
तर हार मानिन!
किनकी म "र" को खोजिमा थिएं!
भौतारिइरहंदा,
जोतिदै गर्दा अध्ययनमा,
के मलाई महसुस नहुंदो हो त,
पुर्णे, शेर्पाले झै पैसा कमाउने!
धर्मेको झै घरबार बसाउने!
मीनाझै बुढाबुढी हाँस्दै घुम्ने?
तर अब,
त्यतिन्जेल मेरो उच्चारण, "डाक्टल" हैन, डाक्टर नै भैसकेको थियो!
अनि म पनि डाक्टर बन्ने गोरेटो हिडिरहेको थिएं!
बा'ले इस्टकोट फेर्नुभो!
आमाको फरिया चम्कियो!
दाइले अरुसङ्ग बात मार्दा,
सर्टको कलर माथी सार्ने भए!
सबको नानी मै थिएं!
खुसी पनि मै, आशा पनि मै!
सन्तुष्ट, प्रफुल्ल, दङ्ग!
तर के थाह, कैले होला र मन भरङ्ग!
जब कसैले डाक्टरले गर्ने अपरेसनलाई,
ड्राइभरले एक्सिडेन्ट्मा गाडी ब्याक गरेर मार्ने घटनासङ्ग तुलना गरिदिन्छ,
कसैले "कसाइ" भनिदिन्छ, कसैलाई,
जसले कोहि नभएपनी आफ्नो ठान्छ सबैलाई!
"स्वभाविक" मृत्युलाई बेच्न,
कोहि चुल्ठेमुन्द्रेसहित मलामी लिएर जान्छ अस्पताल अनि जलांउछ अस्पताल, अनि सबैको मन, हैन लास!
अनि आत्मामा भएको सेवाभाव, सानैको सपना, आजको बिपना , हुनखोज्छ निराश!
एउटा कानुनी राज!
सबै भन्दा माथी नैतिकता
"मेडिकल नैतिकता"
हिप्पोक्रेटिक सपथ!
अनि एकतर्फ,
मेडिकल माल अकरेन्स, इडियोसिन्क्र्यासी अनि
रोगका आफ्नै जटिलता!
अर्कोतर्फ,
मेडिकल विज्ञानलाई ज्यामिती सम्झिने सरकार!
न विज्ञ बोल्छन, न बोल्छन ज्ञाता,
हो हल्ला गर्छन, सोकल्ड, बिधाता!
" चाहियो तीसलाख ज्यानको!"
त्यहिपनी डाक्टरले नै भर्ने रे!
पहिले पहिले सुन्थें,
डाक्टर भगवान हुन्!
तर अहिले देख्दैछु,
डाक्टर भगुवान भएछन्!
भाग्न खोज्दैछन्, पेशाबाट डराएर!
पैसामा जीवन तोल्ने देखि !
विज्ञहरु चुप लागेको देखि!
अनि, हरेक जटिलतालाई,
लापरवाही,
र जानाजान गरेको गल्ती जस्तो बनाइदिए पछि!
"र" को खोजिमा हिडेको म,
"रु" को खोजिमा कहिले लागिन!
ज्ञान, सीप, कौशल सधै लगाइरहें,
दुर्घटना, भवितव्यं रोक्न खोजें,
बचाएं हजारौ ज्यान!
आज विज्ञलाई पाखा लाउदै,
चुल्ठेमुन्द्रे न्यायाधीश ठान्दो,
आफ्नै सरकार भन्दैछ,
यसको ज्यानको मोल यति,
तै "रु" तिरिदे!
यति भन्दै गर्दा,
लास्ट, बट नट द लिस्ट,
चिकित्साको खोल ओढेर, पैसा बटुल्न तम्सिने,
तस्करी, दलाली र गुन्डाराज गर्ने!
धमिलो पानीमा माछा मार्ने,
अनि डाक्टरि पेशालाई बदनाम पार्ने!
सीप, कौशल र योग्यता नभै "जे पनि" गर्ने!
त्यस्ता सोकल्ड "डाँकाटर"लाई "आर आइ पि!"