Tuesday, January 2, 2018

एउटा टालो मुटुको

एक किशोरिको एकालाप

नन मेडिकल पाठक हरुको लागी पुर्वजानकारी :
( मुटुमा  छिद्र/प्वाल परेको भन्ने सुन्नु भएकै होला। प्राय: यस्तो समस्या जन्मजात हुन्छ! धेरै जसोको  बेलैमा अपरेसन गरेपछी, त्यस्ता ब्यक्तिहरुले सामान्य जीवन यापन गर्न सक्दछन! ती मद्धे मुटुको भेन्ट्रीकल या एट्रीयम का बीचमा हुने  छिद्र/प्वालहरुको बेलैमा  उपचार नहुदां जटिल अवस्था आउंछ, त्यसलाई "एइसेनमेङ्गर सिन्ड्रोम/ Eisenmenger Syndrome" भनिन्छ! एइसेन्मेङ्गर भैसकेपछी, त्यसलाई फर्काउन अझ जटिल हुन्छ!)

एइसेन्मेङ्गर!
एइ..... सेन्मेङ्गर!
थाहै नदिइ मेरो मुटुमा
एइ गर्दै आएको रहेछौ,
एइया बनाएर गयौ!

छिद्रै  पारी दिएथें, टाल्न सकिंन ,
रित्तो टुकि अध्यारोमा, बाल्न सकिंन!

डर पो लागेझैं हुन्थ्यो, बढ्थ्यो  ढुकढुकी,
एकछिन दगुर्दा नै, सास फेर्थें फुकिफुकी!
भाग्नु पो कहाँ भाग्नु, भेट्नु कसलाई छ र?
मुस्कुराउनै पो सकिंन, जीवन के चलाई छ र?
                         ***

भन्थिन् आमाले,
पहिले एक डोको दाउरा,
अनि त्यसपछि एक थाल भात्
भाइ भन्थ्यो, दिदी तँ घरै बस्,
आज म ल्याउछु, दाउराको खात,
अबोध उसको ममता,
अनि आमाको (कस्तो?) समता,
बुझिंन मैले,
किन सक्दिंन एक डोको बोक्न,
म भन्दा सानो, भाइले जति पनि,
मन त हुन्थ्यो, सबलाई रिझाऊं,
दाइ ले जत्ती बोकौ दाउराको भारी,
सक्दिनथें, सोच्थें,  चुप लाग्थें, पिटिन्थे, पिरिइन्थें,
कोइ थिएन बोल्ने मलाई मुसारी!

तै  एकदिन,
बा ले जचाउन लैजान्छु भने,
अनि
म त्यसै दङ्ग!
गाडिमा चढ्न पाउछु, सहर देख्न पाउछु,
मिठाई खान पाउछु भनेर!
के थाह थियो र मलाई,
यस्तो महसुस गर्ने मेरो,
मुटुमानै बस्याछ केहि छिद्र  बनेर!

गाडि त चढें, मिठाई पनि खाएं,
तर नमज्जाको मिठाई,
अहिले सम्झिदा पनि  स्वादकेशीका हरु तितिन्छन,
अमारिन्छन् त्यसै, मुटुका माँशपेशीहरु,
अनि उफ्रीन खोजेर नि लतारिइन्छन्,
मनका "शरणार्थी आंट अनि सेंखिहरु"!

भूस... भूस... भूस...
लगातार
भुस... भुस... भुस...
मेरो मुटु,
बजाउंछ, यहि धुनको आलाप,
न निन्द्रा, न काम,
जतिखेरै, सोच्थें म किन?
भन्छन, मान्छे हरु नबुझेरै,
मुटु बाटै, मुटु छोएरै निस्किने सङ्गीत मीठो हुन्छ रे!
तर मेरो मुटुको झन्कार कहिले मीठो बजेन!

एक चोटि सहर बाट फर्किएसिं,
न अर्को चोटि  सहर टेकेँ,
न अर्को चोटि रहर जाग्यो,
लाग्यो त फगत,
जबर्जस्ती को एकोहोरो, कर्कश
आफ्नै मुटुको को सङ्गीत कहर लाग्यो!

सुन्थें, सरकारले मुटुको छिद्र टाल्दिन्छ रे! ,
बरु मेरो कानै टाल्दिए हुने,
नहुने आशा त सुन्नै पर्थेन कम से कम,
बरु मेरो मनै टाल्दिए हुने,
भित्र भित्रै त सुक्नै पर्थेन कम से कम!

तर सरकार मुटुको छिद्र टाल्दिने भन्यो,
मेरो परिवारका मान्छेको अविश्वास टाल्दिन भनेन,
सरकारले अपरेशनको जिम्मा लिन्छु भन्यो,
मुटुमा छिद्र  भएकी केटिको अब उप्रान्तको जिन्दगी जिम्मा लिन्छु भनेन!

शनै शनै:
सुकेकी म डढें , भएं खरानी,
भएं खुट्टा सबै टुटाइएकी परानी!
बा को आर्मीको पेन्सन,
दाजुका बेपारका नोट,
मेरो लागि चलेनन्,
चलेन सरकारको छिद्र  टाल्ने परियोजना पनि!

कोमल, अनि
बेलि फुलका पत्रजस्ता राता,
कलम समात्ने मेरा औला,
हेर्दा हेर्दै,
नीला ड्रमस्टिक जस्ता भए,
मुस्कुराएरै, हरेक थकान मेट्ने यो अनुहार,
छिन छिनमा पसीना छुट्ने,
कलेंटी खै कस्ता कस्ता भए!

जानै पर्ने हो सबले,
ढिलो चाडो हो
'कठै!' पो भन्छन् त साथी,
अनि छिमेकी ती आमाहरु!
बुझ्दैनन फाटेको छैन मेरो अझै,
बुट्टे रेशमी जामाहरु!

'एइ सेन मेन्ज आर' ("HEY! SANE MEN ARE you there?) यु दियर?
सुन्नुस सबैले,
एइसेन्मेङर (Eisenmenger) लाई,
"एक टालो" चुडालेर दिएथेँ मुटु ,
र जादैछु म, हाँसी हाँसी ,
मेरो मुटुको "त्यो एक टालो" जतन गर्नु है!

अर्घाखाँची २०७४/९/१८।