के तिम्रो दुख मलाई दिन सक्छौ?
मात्र केही बेरको लागि!
ता कि म,
तिमी
मुस्कुराएको देख्न सकुँ!
के तिम्रो छटपटाहट मलाई दिन सक्छौ?
केही क्षणको लागि,
ता कि म,
तिमी शान्तमा
गुन्गुनाएको देख्न सकुँ!
तिमि निश्चिन्त होऊ,
त्यो दुख अनि छटपटाहट
म फिर्ता गर्नेछु,
जहाँबाट आएको हो त्यतै,
र प्रयास गर्नेछु,
त्यो तिमी सम्म नपुगोस!
तिमी बिश्वस्त होउ,
मैले सङ्गालेर बस्ने छैन,
ती पीडा अनि घाउहरु,
सक्दो ठीक पार्नेछु,
अनि केही बसून् खाटा,
तर ती दुख्ने छैनन् मलाई,
र दुखाउने छैनन् तिमिलाई!
र प्रयास रहनेछ मेरो सधै,
त्यो तिम्रो नजरमा नपरोस!