Wednesday, September 12, 2018

Attitude

Attitude
१.
बसपार्क भन्दा अलि तल बाट चढ्ने गरि एकदिन अगाडि नै टिकट काटेको हुन्छु! झ्याल तिरको सिट! म चढ्ने स्टेशनमा आइनपुग्दै एक आमाछोरी र नातिनी बसेका रहेछन मैले काटेको सिटमा ! बसको हेल्परले सिट देखाइदिन्छन मलाई ! आमा चाहिँ बोल्छिन्, " तेतै बसे भैगो नि!" म मुसुक्क हास्छु, केही बोल्दिन, लुरुक्क कन्डक्टर बस्ने सिटमा बस्छु!
सोच्छु, सायद  ती आमैले " बाबू, मलाई रिँगटा लागे जस्तो हुन्च, झ्याल तिर बस्चु, तपाईंको सिटमा , हुन्छ?" भनिदिएको कस्तो खुसिले भन्थे होला, "हुन्छ ठीक छ आमै!"

२. काठमान्डुको व्यस्तता सकेर, साँझ घर फर्किने क्रममा एउटा डेरि नजिकै बाइक रोकेर दूध किन्न पसलमा के पसेको मात्र हुन्छु, एउटि पढालेखा जस्ती देखिने प्रौढ महिला ट्याक्सी बाट झरेर भन्छिन, " ओ भाइ, त्यो तपैको बाइक हटाउनुस त!"
बाटो छेकिने गरि त राखेकै थिएन मैले बाइक। पार्किङ्ग गर्न मिल्ने ठाउँ नै थियो! छेउमा मज्जाले ट्याक्सी घुमाउन मिल्ने जग्गा नि थियो!
सोचें, "भाइ, मेरो ट्याक्सी बाट अलिकती गरुङ्गो सामान उतार्न छ, तपाईको बाइक अलिकती उतापट्टी सारे सजिलो हुनेथियो कि?" भनेर भनिदिएको भए, नराम्रो त केही महसुस हुने थिएन!

३.
यौटा कार्यालयमा सानो काम थियो! यौटा अफिसियल निबेदन थियो हातमा, म आफै पनि यौटा सरकारी कर्मचारी । निवेदन को विशेष ढांचा  त केही थिएन। विषय थियो, " ...... भन्ने बारे। "
हाकिमले तोक लगाइसकेर दर्ता फाँटमा पुर्याउदै गर्दा, त्यहाको दर्ता सहयोगिले भने, "यो बिषय भएन । "
"के मिलेन र दाजु?"
" यो विषय मिलेन भनेको सुन्नु भएन?" उनले भने।
फेरि म, " हजुर?"
" ....भन्ने बारे/ हैन, भन्ने बारेमा/ भनेर टुङ्याउन पर्छ बिषय ! नत्र दर्ता हुदैन।"
म जिल्ल! यौटा हाकिमले तोक लगाइसकेको निवेदन दर्ता हुदैन रे!
आजसम्म यौटा अक्षरले गर्दा सहयोगी कर्मचारीले त्यसरी भन्ने गरेको सुन्या थिएन!
सोचें, " सर , हाम्रो कार्यालयको नियमानुसार निवेदनको विषय ".....भन्ने बारेमा/ " भनेर टुङ्याउने चलन छ, कृपया त्यति मिलाइदिनुहुन्छ कि?"  भनेर उनले भनेको भए कस्तो राम्रो सुनिदो हो!

सोच, मानसिकता र व्यवहारको समष्टी हो Attitude! सायद सबैलाई जीवनमा कहिं न कहिं महसुस भएको हुनुपर्छ, चिन्दै नचिनेको कोहि देखे वा भेटिए बोलु बोलु लाग्ने! अनि कोहि कोहि को अनुहार देख्ने बित्तिकै झुर लाग्ने! जे भित्र लागेपनी, बाहिर के व्यक्त गरिन्छ, त्यसले फरक पार्छ! चिन्दै नचिनेको र पहिलो चोटि देख्या मान्छे सङ्ग सामान्य कुरामा झर्किने र रिसाइहाल्ने गर्नु हुदैन। अलिकती नम्र शिष्ट भएर बोल्दैमा कसैको केही जाने होइन। अझ विशेष , आफुले काम लिनुछ भने त अनुरोधै गर्न पर्यो नि! अनुहार हेरर नश्लिय अनि जातिय  पुर्वाग्रही सोच राख्ने अनि त्यही अनुसार व्यवहार गर्नेहरुको कमि छैन। अलिकती पढेको अनि सहरमा बसेर मान्छेहरुको सङ्गत गरेको ले राम्रो ब्यवहार देखाउछन कि भनेर अनुमान पो गर्न सकिन्छ, तर आशा राख्न सकिँदैन।   Attitude राम्रो हुन कोहि पढालेखा हुनै पर्छ भन्ने जरुरी छैन! यो सिकेको चिज न हो! its not taught , its caught भन्छन क्यारे अङ्ग्रेजी मा।

#attitude  #feelings #medicoscribbler