धेरै न्यास्रो लागिरहेछ यतिखेर,
'लकडाउन'को बेला,
सारा देशले नै
उच्छ्वास काढिंरहंदा,
गुम्सिएर आफै,
गुम्सिएका भावना ओकल्दा,
यादमा तिम्रो कल्पिन पुग्छु,
तिम्रा नयन, त्यो नजर,
त्यो भाव भङ्गिमा,
सबै सम्झिरहेछु!
अनि सम्झिरहेछु,
त्यो श्रुतिमधुर लवज,
जो भन्छ्यौ तिमी,
"सुन सबैलाई, बुझ सबैलाई,
देऊ माया सबैलाई, देऊ आदर सत्कार,
अनि राख मनमा करुणा भाव!
अनि आफ्नो कर्म गर!"
सुनिरहंदा मौनतामा तिम्रा
हरेक लवज,
मन मन मैले पुकारिरहन्छु,
भगवान्, साथ लगाएर पठाएछौ, एक देवी
साच्चिकै दीप बालिरहेकी,
दीपिका!
उनको आभालाइ, सधै बालिराखिदिनु है।
उनको कलिलो तर मजबुत मष्तिष्कमा
भरिएको करुणा, माया,
अनि सेवा भाव
सधै जिवित राखिदिनु है!
दुरभाष यन्त्रको घण्टि बज्छ,
"ड्युटिमा छु म, आफ्नो ख्याल राख्नु"
लेखिएको क्याप्सन सहितको
नचिनिने मास्क लगाएको तस्वीर
भाइबर आएको रहेछ!
अलिकती डर, अलिकती दुख,
तर त्यो भन्दा धेरै, गर्व लाग्दछ,
बढेर आउँछ साहस, अनि मनोबल!
यसरी दुबै जना जनतालाई चाहिएको बेला,
मन, वचन र कर्मले सेवा गर्न पाउँदा!
'कोभिड'ले आत्तिएर सबै,
'लकडाउन'मा 'लक' भएको बेला,
आखीर ज्यानको माया कसलाई हुदैन र?
अनि उनको माया?
उनलाई भन्दा ज्यादा मलाई!
प्यारी दीपिका,
गर्व छ, तिम्रो साथ पाउनुमा,
अनि साथ-साथ अगाडि बढ्न पाउनुमा।
"डा. दीपिका, आफ्नो ख्याल धेरै राख्नु है!"
-प्रतिउत्तर,
अरु त केही शब्द भए पो,
भावना बाहेक, उनैको सापटी।
(तस्वीर साभार: गुगल)
काठमाडौ, चैत्र १९, २०७६।